चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो।

वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो। निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई  पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए।

निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो। औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनाएर मुख्य कार्यालय  कसरामा लगिएको  उनले जानकारी दिए।

बाघलाई कसराको खोरमा राखिएको छ। सो बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो। थप मानवीय क्षति रोक्न बाघ नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।