हेटौँडा । पछिल्लो तिन दिनमा मकवानपुरको विभिन्न क्षेत्रमा खोलाले बगाएर ५ जनाको ज्यान गएको छ । असोजको पहिलो साताबाट भैरहेको वर्षातको कारण नदिको सतहमा बृद्धि भएसँगै आएको बाडीको कारण बगाएर ५ जनाको मृत्यु भएको हो ।

मकवानपुरको सामरी खोलाले बगाउँदा श्रीमान, श्रीमतिको मृत्यु (आइतबार)

मकवानपुरगढि गाउँपालिका ६ स्थित झल्ला भन्ने ठाँउमा सामरी खोला तर्ने क्रममा खोलाले बगाउदा परियार दम्पत्तिको मृत्यु भएको छ ।

आइतबार विहान आज ११ बजेको समयमा सामरी खोला तर्न खोज्दा मकवानपुरगढि गाउँपालिका ६ का वर्ष ६५ का ज्ञान बहादुर परियार र उनको श्रीमति वर्ष ६१ को तुलसा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई खोलाले बगाएको स्थानियले देखेपछि प्रहरीलाई बोलाएको र दुबै जनाको लास करिव साढे ११ बजे भेटिएको प्रहरीले बताएको छ । उनीहरुलाई खोलाले बगाएर करिब १ किलोमिटर तलसम्म पुर्याएको प्रवक्ता रानाले बताए ।

कैलाशमा एकजनाको मृत्यु (शुक्रबार)
कैलाश गाउँपालिका स्थित विमिरे खोलाले बगाउँदा स्थानीय ३८ वर्षीय सोम सिङतान (धावा लामा) को मृत्यु भएको कैलाश गाउँपालिका वडा नंबर ५ का वडा अध्यक्ष छेकु लामाले खबरब्रेकलाई बताए ।

वडा अध्यक्ष लामाले भने,’बिहिबार खेतबारीमा काम सकेर साँझ घर फर्कने बेला खोलाले बगाउँदा लामाको ज्यान गयो,खोला तरेर घर जानुपर्ने अवस्था छ । केहि दिन देखि वर्षा पनि निरन्तर भईरहेकोले खोलाको बहाव बढेको थियो । दुस्खद घटना घट्यो ।’

ज्यामिरे खोलाले बगाउँदा एकको मृत्यु (शनिबार)

हेटौंडा–१९ स्थित ज्यामिरे खोलाले बगाउँदा ४५ वर्षीया पुतलीमाया घलानको मृत्यु भएको हो । हेटौंडा–१९, ज्यामिरेस्थित माईती घरबाट हेटौंडा–१९ कै कालिकाटारस्थित घर फर्कने क्रममा साँझ ६ बजेको समयदेखि सम्पर्कबिहिन भएकी घलानको शव शनिबार ज्यामिरे खोला किनारमा बरामद भएको प्रहरीले जनाएको छ ।

त्रिखण्डी मन्दिर नजिक खोलाले बगाउदा एकको मृत्यु (शनिबार)

भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलाले बगाएको युवतीको मृत्यु भएको छ । शनिबार दिउँसो त्रिखण्डी मन्दिर नजिक खोलाले बगाउँदा उनलाई स्थानीयहरुले हेटौंडाको खोप्लाङको नयाँ पुलबाट मृत फेला पारेका थिए ।

मृत्यु हुनेमा विरगंज घर भएकी १७ वर्षीया प्रियका सोनी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए । ति युवती शुक्रबार विरगंजबाट त्रिखण्डी मन्दिर दर्शनको लागि परिवारसंग आएकी थिईन् । शनिबार त्रिखण्डी मन्दिर घुमघामको लागि गएकी थिईन् ।

शनिबार दिउँसो त्रिखण्डी मन्दिर नजिक खोलाको ढुङ्गामा उभिएर मोबाईलबाट सेल्फी खिच्ने क्रममा चिप्लीदाँ उनलाई खोलाले बगाएर लगेको प्रतक्ष्यदर्शी हेटौंडाका विप्लव गौतमले बताए ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।