एजेन्सी । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात काराबाओ कपको चौथो चरणमै प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हस्टपर र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । तेस्रो चरणको खेलमा टोटेनहमले वाक ओभर पाएपछि चौथो चरणमा चेल्सी प्रतिद्वन्द्वी पाएको हो । तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको क्लब लेटन ओरियन्टसँग मंगलबार खेल्ने तालिका रहेपनि क्लबका अधिकांश खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि खेल स्थगित गरिएको थियो ।

लेटनको मैदानमा हुने भानिको खेल गर्न स्थानीय प्रशासनले समेत स्वीकृति दिएको थिएन । लेटनले टोली उतार्न नसकेको र आयोजना गर्न असमर्थ रहेपछि प्रतियोगिता नियमावलीको अनुसार नै खेल टोटेनहमको पक्षमा पुगेको थियो । टोटेनहम र लेटनबीच खेल स्थगनलाई लिएर छलफल पनि भएको थियो ।

टोटेनहमका समर्थकले खेल नहुने देखेपछि तल्लो श्रेणीको लेटनको सहयोगार्थ क्लबको स्टोरबाट सामान खरिद गरेर सहानुभूति जनाएका थिए । क्लबले एकैदिन २० हजार पाउण्डसम्म सामग्री बेचेको बताएको थियो । लेटनको जर्सीलाई टोटेनहमकै फरवार्ड ह्यारी केनले मुख्य प्रायोजन गरेका छन् ।

काराबओ कपले शुक्रबार दुई टिमबीचको खेल रद्द गर्दै टोटेनहमलाई वाकओभर दिएको दिएको हो । अब टोटेनहमले मंगलबार चेल्सीसँग खेल्नेछ । चेल्सीले तेस्रो चरणमा बार्न्सलीमाथि ६–० को सानदार जित दर्ता गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।