चितवन  । कोरोना सङ्क्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका तीन सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो । सोही अवधिमा तीन सय १५ जनाको परीक्षण गर्दा २४ जनामा डेङगु देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार सबै रोगको तथ्याङ्क सङ्कलन भइरहेको छ । मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रब टाइफस हुने भरतपुर अस्पतालका डा. महेन्द्र अग्रहरिले जानकारी दिए । यो रोग वर्षाको समयमा देखिन्छ ।

उक्त किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा विशेषरी उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरिले बताए । यसैगरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो । यसको सङ्क्रमणमा सुरूआती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा वढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्षण देखा पर्ने डा. अग्रहरिको भनाइ छ ।

जिल्लाका शहरी क्षेत्रमा अहिले पानी भरिएको छ । त्यसले रोग थप बढ्न सक्ने भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएका डा. भोजराज अधिकारीले बताए । उनका अनुसार पानी सुक्दै जाँदा रोगको प्रकोप वढ्दै जाने खतरा छ । जिल्लामा हरेक वर्ष यतिवेला दुवै रोगका बिरामी बढ्ने गर्दछन् । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।