एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले सिजनको पहिलो उपाधिको रुपमा युइएफए सुपर कपको उपाधि जितेको छ ।बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियामाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै बायर्न सुपर कप च्याम्पियन बनेको हो । बायर्नले १–० ले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।

बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र जेभियर मार्टिनेजले गोल गरे । सेभियाका लुकास ओकम्पासको गोल सान्त्वना बन्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जेभियर मार्टिनेजले गोल गर्दे बायर्नलाई च्याम्पियन बनाए ।

पुस्कास एरिना बुढापेस्ट हंगेरीमा भएको खेलमा सेभियाले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । इभान राकिटिचलाई पेनाल्टी बक्समा डेभिड अलावाले धकेलेपछि प्राप्त पेनाल्टीमा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाएका थिए । ३४औं मिनेटमा बायर्नले खेललाई १–१ गोलको बराबरीमा ल्यायो । थोमस मुलरको क्रसमा रोबर्ट लेवान्डोस्कीको मिलाइदिएको ब्याकपासमा गोरेट्जकाले जाली चुमाएका थिए । ५१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

लिरोए सानले गरेको क्रसमा सुरुमै लेवान्डोस्की र थोमस मुलर अफसाइड पोजिसनमा रहेका थिए । लेवान्डोस्कीले मुलरलाई दिएको पासमा मुलरको प्रहार गोलरक्षकले ब्लक गरेपनि रिवाउन्डमा लेवान्डोस्कीले गोल गरेका थिए ।

त्यसपछि पनि दुवै टोलीले गोलको सुवर्ण अवसरहरु खेर फाल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०४औं मिनेटमा जेभियर मार्टिनेजले हेडरमार्फत गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसकदा बायर्न च्याम्पियन बन्न सफल भयो । बायर्न च्याम्पियन्स लिगको च्याम्पियन तथा सेभिया युरोपा लिगको च्याम्पियनको हैसियतले युइएफए सुपरकप खेल्ने अवसर पाएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।