पूर्वी नवलपरासीको बुटवल नारायणगढ सडक खण्डअन्तर्गत दाउन्नेमा खसेको पहिरोमा एउटा बस पुरिँदा बसमा सवार एक जनाको निधन भएको छ ।

पहिरामा परी १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार साँझ विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिरनजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो । पहिरो खस्दा बस नै ३० फिट तल झरेको छ ।

पूर्वबाट पश्च्मि जाँदै गरेको उक्त बस पुरिँदा बसमा सवार १८ जना घाइते भएका थिए । घाइतेमध्ये पश्चिम रुकुमको आठबिसकोठ गाउँपालिका १० बस्ने २५ वर्षको हरिशचन्द्र केसीको बिहीबार राति ९ बजेतिर उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपलिका निवासी २७ वर्षीया महिला प्रतिभा खड्का, सोही स्थानका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपलिका ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० वर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ वर्षीया शिवा पुन गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।