९ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) ले रोयल च्याजेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना लगाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै आईपीएलले स्लो ओभर रेटमा बलिङ गराएको आरोपमा कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना सुनाइएकाे जनाएकाे हो ।

तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पञ्जाबसँगको खेलमा स्लो ओभर रेटमा बलिङ गराएको आरोपमा कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना सुनाइएको हो ।

बिहीबार राति भएको खेलमा बैंग्लोर पञ्जाबसँग ९७ रनले पराजित भएको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको बैंग्लोर १७ ओभरमा १०९ रन बनाउँदै अलआउट भयो ।

सो खेलमा टस जितेर बलिङ गरेको बैंग्लोरले झण्डै दुई घण्टामा आफ्नो पारी सकेको थियो । उसले एक घण्टा ५१ मिनेटमा बलिङ सकेको थियो ।

सामान्यतया टी–२० क्रिकेटमा एक पारी एक घण्टा ३० मिनेटमा सकिने गरिन्छ । तर, बैंग्लोरले धेरै समय लगाएको भन्दै कोहलीमाथि १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पञ्जाबले हिजोको खेलमा निर्धारित २० ओभर खेल्दा ३ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।