एजेन्सी । अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारिया विश्वकप छनौट खेल खेल्ने अर्जेन्टिनी टोलीमा नपरेपछि निराश बनेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार डी मारियाले टोलीमा नपरेपछिको गुनासो सामाजिक सञ्जालमा पोखेका छन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप छनौटअन्तर्गत इक्वाडर र बोलिभियाविरुद्ध खेल्ने टोलीमा डी मारियालाई राखेका छैनन् ।

यसै साता घोषणा गरिएको टोलीमा लियोनल मेस्सी, लाउटारो मार्टिनेज र पाउलो डेबालालाई राखिए पनि उनले स्थान बनाउन सकेनन् । ‘म स्पष्ट हुन सकेको छैन, मसँग कुनै शब्द छैन । अर्नेन्टिनाको राष्ट्रिय टोली मेरा लागि धेरै नै महत्त्वपूर्ण छ । मैले पीएसजीमा काम गर्नु भनेको राष्ट्रिय टोलीमा काम गर्न सक्षम हुनलाई नै हो । यो बुझ्न गाह्रो भइरहेको छ मलाई किन बोलाइएन,’ उनले भने ।

‘उनीहरूले मलाई खेलाउन चाहेनन्, तर म अर्जेन्टिनी राष्ट्रिय टोलीमा पर्नका लागि संघर्ष गरिरहनेछु । तिमी बूढो भयौ भनेर धेरै मानिसले भन्छन् तर म ३२ वर्षको छु । तर, सबै खेलमा मेरो कुदाइ कायमै छ । म बूढो भएको छैन र म नेयमार र किलियन एम्बाप्पेकै स्तरमा खेल्न सक्छु,’ उनले थपे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।