बारा प्रहरीले १२ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका ५ सिघासनीका २३ वर्षका बलिराम चौधरी र भारतको बिहारस्थित मोत्तिहारी जिल्ला झरोखरका २७ वर्षका सन्दीप कुमार रहेका छन् ।

प्रहरीले उनीहरुबाट बा। ६४ प ९७०६ नम्बरको मोटर साइकलसमेत जफत गरेको जनाएको छ । बुधबार सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया नहरस्थित चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले दुबै जनालाई रोकी चेकजाँच गर्दा सन्दीपले बोकेको झोलाभित्र रातो प्लाष्टिकमा नेपाली १ हजार रुपैयाँका नक्कली नोट थान १ हजार २ सय १६ थान बरामद भएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका दुवै जनालाई एक अज्ञात व्यक्तिले ३० वटा चोरीको मोबाइल खरिद गरी उक्त रकम दिएको भन्ने कुरा खुल्न आएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

मोबाइल खरिद गरेर नक्कली नोट दिने व्यक्ति भने फरार भएका छन् । नक्कली नोटसहित पक्राउ परेका दुबै जनालाई नोट सहित प्रहरी हिरासतमा राखिएको र नोट दिने व्यक्तिको खोजी कार्या भइरहेको मिश्रले बताए ।

यो घटनाले बारा र सीमा क्षेत्रमा नक्कली नोटको अबैध कारोबारको बिगबिगी बढदै गएको स्पष्ट भएको प्रहरीको भनाई छ । प्रहरी स्रोतका अनुसार बारा प्रहरीले अहिले भारतबाट चोरी गरी नक्कली नोट दिएर खरिद गरी फरार भएको मुख्य अभियुक्तलाई खोजी गरी नक्कली नोटका सञ्जाललाई क्रयाक गर्न खोजेको छ ।

‘नक्कली नोट दिने व्यक्तिको सम्पर्क नम्बर फेला परेको छ,उसको नम्बर ट्रयाक गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ,’बाराका डिएसपी मिश्रले भने,‘चाँडै ती व्यक्तिलाई पक्राउ गरी नक्कली कारोबारका मुख्य अभियुक्त सम्म पुग्ने बारा प्रहरीको रणनीति छ ।’उनले नक्कली नोट नेपालमा छापिएको हो की भारतबाट छापेर आएको हो,यस बारे खुल्न नसकेको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।