इंग्लिस प्रिमियर लिगमा साविकको उपविजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा सिटीले वुल्भसमाथि ३–१ गोलको सहज जित निकालेको हो । वुल्भसको मैदानमा भएको खेलमा सिटीलाई जिताउन केभीन डी ब्रुने, फिल फोडेन र ग्राबियल जेससले समान एक–एक गोल गरे । वुल्भसका राउल जिमेनेजले एक गोल फर्काए ।

सिटीले डी ब्रुनेको गोलमा सुरुआती अग्रता बनाएको थियो । उनले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । खेलको ३२औं मिनेटमा फोडेनले रहिम स्टर्लिङको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ७८औं मिनेटमा वुल्भसका जिमेनेजले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, खेलको इन्ज्युरी समयमा जेससले डी ब्रुनेको पासमा गोल गरेपछि सिटीले ३–१ गोलको जित निकालेको हो ।

यससँगै सिटीले नयाँ सिजनको प्रिमियर लिगमा पहिलो जित निकालेको छ । उसले ३ अंक जोडेको छ । वुल्भसले भने पहिलो खेलमा सेफिल्ड युनाइटेडमाथि जित निकालेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।