भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ।

भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ। संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड–१९ बाट संक्रमित भइसकेका छन्।

गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनका कारण लाखौं मानिसको जीविकामै असर परेको छ। त्यहीकारण प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्ला दिनहरुमा अरु मुलुकले अबलम्बन गरेझैं कडा नियमहरु लागू गर्न इच्छुक देखिएका छैनन्।

सरकारले पछिल्ला महिनाहरुमा रेलसेवा, घरेलु बिमान सेवा, बजार र रेष्टुराँसमेतका पेशा व्यवसायमा गरिएका प्रतिबन्धहरु खुकुलो बनाउन थालेको छ। सरकारले अब भारतकै विश्वप्रसिद्ध स्मारक ताजमहल सर्वसाधारणका लागि खुला गरेको छ।

ताजमहल घुम्न परिवारसहित आइपुगेका बैंकका एक अधिकृत आयुब शेखले लकडाउनका कारण धेरै मानिसले रोजगारी गुमाएको अवस्थामा सरकारले पूरै मुलुकलाई खुला गर्नुपर्ने बताए। उनले भने, ‘हामीलाई अब भाइरसको डर छैन। यसले संक्रमण गर्ने भए गरिसक्यो, अब कति चिन्ता लिएर बस्ने ? अहिले मानिसको मृत्युदर पनि घटेको छ। मेरो विचारमा यो भाइरस त्यतिकै हराएर जाँदैन।’

भारतमा आग्रास्थित ताजमहल निकै लोकप्रिय पर्यटकीय स्थल हो। यो स्मारक हेर्न वर्षमा झण्डै ७० लाख मानिस यहाँ आइपुग्छन्। तर यो स्मारक विगत सात महिनादेखि बन्द छ।

अधिकारीहरुले सामाजिक दूरीका नियमहरुमा कडा गरिएको र पर्यटकहरुलाई यहाँका संगमरमर छुन निषेध गरिएको बताएका छन्। राजकुमारी डायनाले सन् १९९२ मा बसेर फोटो खिचाएको बेन्चलाई विशेष किसिमबाट ल्यामिनेट गरिएको छ, ताकि त्यसलाई बेलाबेला स्यानिटाइज गर्न सकियोस्।

सोमबार पहिलो दिन बिहानै सयौं मानिस ताजमहल पुगिसकेका थिए। सुरक्षाकर्मीहरुले मानिसहरुलाई मास्क लगाउन अनुरोध गरिरहेका थिए। यहाँ दैनिक भ्रमण गर्नेको संख्या पाँच हजारमा सीमित गरिएको छ। यो संख्या विगतको भन्दा एक तिहाई मात्र हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।