चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको संख्या बढेको छ । तालतलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको संख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिए । नदी तालतलैयामा माछा मार्न प्रतिबन्ध लगाएपछि र पानीको सतह कायम राख्न बाँध लगाएपछि चराको संख्या बढेको उनले बताए । माछा मार्न खोलामा विषादी हाल्ने क्रम रोकिएपछि पनि चरा संरक्षणमा सहयोग पुगेको छ

राजधनेश, लोभिपापी गरुड, कालो गरुड, भुँडीफोर गरुड, घाँसे चरी र घेघरी घाँसे फिस्टे चराको संख्या बढेको बिंडारीले बताए । नेपालको चितवनमा मात्रै देखिने लामो ठुडे भ्याकुरको अवस्था पनि राम्रो भएको उनले बताए । चितवन निकुञ्ज आसपासको क्षेत्रमा चिलको प्रजातिका चराको अवस्था पनि राम्रो छ । चितवनमा गिद्ध प्रजातिको चरा कम हुँदै गए पनि नवलपुर क्षेत्रमा संख्या बढ्दो छ । राजमयुर, खरमयुर, कृष्ण गरुड र सेतो गरुड कहिलेकसो देखिने गरेको बिंडारीले बताए । चितवनमा आधाभन्दा बढी प्रजातिका चराको संख्या बढेको छ ।

लोपोन्मुख दुर्लभ चरा पानीमा आश्रित धेरै छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका बाटुली ताल, टिकौली ताल, लामी ताल, गरुण तालमा चराको संख्या उल्लेख्य देख्न सकिन्छ । कुमरोज सामुदायिक वनदेखि सौराहाको ड्यामसम्मको क्षेत्रमा पनि चरा धरै देखिन्छन् ।

चितवनको बर्ड सेन्चुरी (चराको मुख्य बासस्थान)को रुपमा टिकौलीको ताल क्षेत्र विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गबाट सय मिटर दूरीमा रहेको बीसहजारी ताल विश्व रामसार सूचीमा सूचिकृत छ । ताल आसपासमा सालका अग्ला रुख रहेका र ताल नजिकै खेती हुने क्षेत्र रहेकाले चराले ताल वरिपरी गुण लगाउने र खेतीमा विचरण गर्ने चराविद् बताउँछन् । विश्वबाट लोप हुन लागेका ४४ प्रजातिका चरा नेपालमा पाइन्छन् । तीमध्ये चितवनमा मात्रै ३४ प्रजातिका चरा पाइन्छन् । नेपालमा पाइने ८४१ प्रजातिका चरामध्ये चितवनमा मात्रै ६४१ प्रजातिका चरा पाइन्छन् । नेपालमा विभिन्न संघसंस्थाले चराको संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन् । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।