हेटौंडा । जनप्रिय मावि दिव्य सेवा बाल क्लबले नियमित रुपमा सञ्चालन गरिरहेको बाल बगैँचाको चौबिसौँ भागमा कवि सुवास खनाललाई प्रस्तुत गरिएको छ । बीस जना विद्यार्थीले भाग लिएको उक्त कार्यक्रमको संयोजन जनप्रियका शिक्षक युक्तलाल विश्वकर्माले गरेका थिए ।

कार्यक्रममा खनालले आफ्नो कविता यात्राको अनुभवका साथै साहित्यका कथा, कविता, गजल लगायतको विषयमा जानकारी प्रस्तुत गर्नुका साथै लेखनमा विद्यार्थीहरूलाई उत्प्रेरित गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका खनाल श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव तथा प्रलेस राष्ट्रिय परिषद् सदस्य पनि हुन् र उनको विचारको उल्टो नदी कविता सङ्ग्रह (२०७१) प्रकाशित छ भने ‘सपनाका अवयव’ कविता सङ्ग्रह प्रकाशोन्मुख रहेको छ ।

पहिलो भागमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामालाई प्रमुख अतिथिका रुपमा प्रस्तुत गरेर सुरु गरिएको बगैँचाको निरन्तरताका साथ चौबिसौँ भाग सञ्चालन भइसकेको छ । कार्यक्रममा विद्यार्थीहरूको उत्सुकता र जिज्ञासा बढ्दै गइरहेको संयोजक विश्वकर्माले बताए । बगैँचाको यो भागमा जनप्रिय माविका प्राचार्य नमराज अर्याल, लोकदोहोरी प्रतिष्ठान मकवानपुरका कोषाध्यक्ष साधुराम राउत अभिभावक मेधनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

भर्चुअल मार्फत सञ्चालन भएको उक्त कार्यक्रममा बोल्दै प्राचार्य अर्यालले सिर्जनात्मक गतिविधि सञ्चालनका लागि जनप्रिय मावि परिवार सधैँ उत्प्रेरक र सहयोगी बनिरहने र यस्ता गतिविधिलाई सक्रिय गराइरहने भनाइ राखेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।