सांकेतिक तस्विर

मानवी बानियाँ,हेटौंडा । खेती गर्ने इच्छा छ, तर जग्गा छैन वा जग्गामा आबश्यकतानुसार लगानी गर्नसक्नु भएको छैन भने यसका लागि बागमती प्रदेश सरकारले कार्यक्रम ल्याएको छ । विशेषतः जग्गा अभावमा खेती गर्न नपाएका किसानका लागि र जग्गा भएकाले पर्याप्त लगानीमा खेती गर्न नपाएकाका लागि मध्यनजर गर्दै प्रदेश सरकारको कृषि विकास निर्देशनालयअन्तर्गत् बाँझो जग्गामा खेती प्रोत्साहन कार्यक्रममा सञ्चालनमा ल्याइने भएको हो ।

प्रदेश सरकारले उक्त कार्यक्रमका लागि सूचना जारी गरेको छ । मंगलबार सूचना जारी गर्दै आवेदन खुला गरिएको हो । आर्थिक वर्ष २०७७÷०७८ मा बाँझो जग्गामा खेती प्रोत्साहन कार्यक्रममा तीन करोड बजेट रहेको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी गराए । प्रदेशभरका कृषक, निजी फर्म, कृषक समूह र कृषि सहकारीले कार्यक्रममा आवेदन निने अधिकारीले बताए । लामो समयदेखि बाँझो रहँदै आएका खेतीयोग्य जमिनमा पुनः खेती गर्न कृषकलाई प्रोत्साहन गर्दै कृषिक्षेत्र विस्तार, उत्पादन र उत्पादकत्व वुद्धि गर्ने उद्धेश्यले कार्यक्रम ल्याइएको सूचना अधिकारी अधिकारीले बताए ।

वर्तमान अबस्थामा बढ्दै गएको वस्ती स्थानान्तरण दुरुत्साहन गरी खेतीयोग्य जमिन उपयोगसमेत हुने अधिकारीले प्रतिक्रिया दिए । उक्त कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्केका, प्राकृतिक प्रकोपपीडित, शिक्षित र उत्साही युवालाई कृषि व्यबसायमा आकर्षित गर्ने उनले आशा व्यक्त गरे ।सम्बन्धित व्यक्तिले भोेगचलन गरेको तर लालपुर्जा नभएकाको हकमा स्थानीय तहको स्वीकृति चाहिने बताइएको छ । बाँझो जग्गामा खेती प्रोत्साहन कार्यक्रमका लागि कम्तिमा तीन वर्षदेखि सदुपयोग नभएको जग्गा हुनुपर्ने बताइएको छ ।

आंशिक बाँझो रहेको वा खेती गर्दै छाड्दै आएको जग्गालाई समेत समावेश गर्न सकिने अधिकारीले जानकारी गराए । जसमा न्यूनतम् दुई रोपनी जग्गा हुनुपर्ने उनले बताए । प्राकृतिक तथा भौगोलिक उपयक्त स्थानमा गरिने खेतीलाई अनुदान उपलब्ध गराइने अधिकारी बताउँछन् ।प्रतिरोपनीमा खेती गरेवापत् दुई हजार रुपियाँका दरले रकम उपलब्ध गराइने छ । कार्यक्रमअन्तर्गत् बाँझो जग्गा १० हजार रोपनीमा खेती लगाउने लक्ष्य रहेको छ ।

प्रदेशको कुल क्षेत्रफल २० लाख ३० हजार हेक्टरमा खेतीयोग्य क्षेत्रफल तीन लाख २८ हजार दुई सय ९७ हेक्टर छ । जसमा खेती गरिएको क्षेत्रफल दुई लाख ९ हजार ६ सय ६२ हेक्टर छ भने ३ हजार ६ सय ६५ हेक्टर बाँझो रहेको सूचना अधिकारी अधिकारीले जानकारी गराए । मुलुककै प्रमुख अन्नभण्डार मानिने खेतीयोग्य जमिन घट्दो छ । त्यसको प्रभाव कृषि उत्पादन कम हुने नै भयो । वर्षमा कति हेक्टर खेतीयोग्य जग्गा घट्यो ? त्यसको अनुसन्धान हुन बाँकी छ । कृषि अधिकारीहरुले कृषियोग्य जमिन घट्नुका कारण औंल्याएका छन् ।

पछिल्लो समय निजी बन बनाउने क्रम बढ्दो छ । यसले निजी बनको क्षेत्रफल बढाए पनि खेतीयोग्य जग्गामा कमी ल्याएको छ । बजार सहरोन्मुख हुँदै जाँदा जग्गा प्लटिङ गरी बिक्री गर्ने क्रम उस्तै छ । नदीकटानले सयौं खेतीयोग्य जग्गा बगरमा परिणत हुँदै गएका छन् । उद्योग स्थापना हुने क्रम बढेको छ । बढीजसो इँटा उद्योगले पनि खेतीयोग्य जग्गामा कमी ल्याएको छ । कृषिलाई आबश्यक मल, बिउ महंगो हुँदा जग्गा बाँझो राख्ने चलन बढेको छ ।

खेतीयोग्य जग्गा घट्ने क्रम जारी रहे अन्नभण्डार मानिने क्षेत्रमा कृषि क्षेत्र नै संकटमा पर्नसक्छ । प्रदेश तथा स्थानीय तहले कृषिक्षेत्रमा जोड दिइरहेका बेला खेतीयोग्य जग्गा संरक्षणका लागि भने ठोस नीति ल्याउन सकेका छैनन् । पछिल्लो समय गाउँका युवा वैदेशिक रोजगारीका नाममा धमाधम पलायन भइरहेका छन् । जग्गा नभएका सर्वसाधारण खेती गर्नुभन्दा पनि मजदुरीका लागि सहर पस्ने क्रम बढेपछि कृषिप्रति आकर्षण घट्दै गएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।