एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा विश्वकै सर्वाधिक धेरै कमाउने फुटबलर बनेका छन् । अमेरिकी बिजनेस म्यागाजिन ‘फोर्ब्स’का अनुसार अर्जेन्टिनी कप्तान मेस्सी २०२० मा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका हुन् ।

फोर्ब्सका अनुसार केही समयअघि बार्सिलोना छोड्ने घोषणा गरी पुनः क्याप नोउ नै बस्ने मनसाय बनाएका ३३ वर्षीय मेस्सीले १२६ मिलियन डलर कमाएका छन् । मेस्सीले तलबमार्फत ९२ मिलियन डलर तथा अन्य शीर्षकमा ३४ मिलियन डलर कमाएका हुन् । यसअघि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक धेरै कमाउने खेलाडीको सूचिमा पहिलाे स्थानमा थिए । यो वर्ष भने मेस्सीले रोनाल्डोलाई उछिनेका हुन् ।

३५ वर्षीय रोनाल्डोले भने ११७ मिलियन डलर कमाएका छन् । युभेन्टसका स्टार रोनाल्डोले ७० मिलियन डलर तलबमार्फत र अन्य शीर्षकमा ४७ मिलियन डलर कमाएका छन् । ब्राजिलियन स्टार तथा फ्रान्सेली क्लब पीएसजीका फरवार्ड नेयमारले ९६ मिलियन डलर कमाउँदा नेयमारका सहकर्मी तथा विश्वकप विजेता किलियन एम्बाप्पेले ४८ मिलियन डलर कमाएका छन् ।

पाँचौं स्थानमा रहेका लिभरपुलका मोहम्मद सालाहले ४२ मिलियन डलर कमाउँदा छैटौं स्थानका म्यानचेस्टर युनाइटेडका पल पोग्बाले ३४ मिलियन डलर कमाएका छन् ।

बार्सिलोनाका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले ३३ मिलियन डलर कमाउँदा रियल मड्रिडका ग्यारेथ बेलले २९ मिलियन डलर थापेका छन् । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले २८ मिलियन डलर थाप्दा युनाइटेडका गोलरक्षक डेभिड डी गयाले २७ मिलियन डलर कमाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।