जापानमा वर्तमान सरकारका मुख्य क्याबिनेट सेक्रेटरी रहेका योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

सोमबार जापानिज सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक ९एलडीपी० ले सुगालाई सिन्जो आबेको स्थानमा नयाँ नेता चुनेसँगै उहाँ नै नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

सुगा फराकिलो अन्तरले दलको नेता चुनिनु भएको हो । उहाँको पक्षमा ५३४ मध्ये ३७७ मत परेको थियो । सुगाले आबेको मन्त्रिमण्डलमै परराष्ट्र मन्त्री रहनु भैसकेका फुमिओ किशिडा र रक्षा मन्त्री रहनुभएका शिगेरु इसिबालाई पराजित गर्नुभएको हो ।

यद्यपि, प्रधानमन्त्री चयनका लागि भने बुधबार बस्ने संसद बैठकले निर्णय लिने जनाइएको छ ।

आफ्नो कमजोर स्वास्थ्यलाई देखाउँदै गत महिना ६५ वर्षीय प्रधानमन्त्री आबेले राजिनामा दिनु भएपछि पद रिक्त भएको थियो । आफ्नो स्वास्थ्यका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्दै आबेले राजिनामा दिनुभएको थियो ।

आबेका अत्यन्तनिकट मानिएका ७१ वर्षीय सुगाले पनि आबेले लिएको नीतिलाई नै निरन्तरता दिने समाचारहरुमा जनाइएको छ ।

जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको नै बहुमत रहेको छ । सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म नयाँ प्रधानमन्त्रीको कार्यकाल रहने बीबीसीले जनाएको छ ।

जापानमा सुगालाई निकै व्यवहारिक, अनुभवी, क्षमतावान र वरिष्ठ राजनेताका रुपमा लिइन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।