
सुजन खतिवडा,गोरखा । नेपाली बृहत् शब्दकोश अनुसार जनता भनेको कुनै देशमा बस्ने मानवको समष्टि भन्ने बुझिन्छ। यसैगरी, देश भनेको चारैतिर फैलिई अनेकौं गाउँ, सहर, जिल्ला, अञ्चल वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग वा मुलुक भन्ने बुझिन्छ। त्यस्तै, राजनीति भन्नाले प्रजाको शान्ति, सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति भन्ने बुझिन्छ। यसरी हेर्दा जनता, देश र राजनीतिबीच अन्योन्याश्रति सम्बन्ध रहेको पाइन्छ। किनकि जनताविना देश हुन सक्दैन। जनता र देशविना राजनीतिको कुनै अर्थ रहन्न।
माथिको परिभाषाले मात्र देशको परिभाषा पूर्ण हुन सक्दैन। देश भन्ने बित्तिकै त्यसको निश्चित र विशिष्ट भूभागका साथै त्यस भूभागमा बस्ने जनता, राज्य सत्ता, सेना, प्रहरी, प्रशासन आदि हुन आवश्यक हुन्छ। जतिसुकै विशाल भूभाग भए पनि त्यहाँ जनताको बसोबास छैन भने त्यो भूभागमात्र हुन्छ, देश हुन सक्दैन। त्यसै कारण हरेक देशको मूल कानुन -संविधान) मा जनता सवोपरि शक्ति हुन्छ। त्यस मुलुकमा जनताले नै आफ्नो शासन व्यवस्था आफै छान्छन्। त्यसै व्यवस्थालाई जनतन्त्र, गणतन्त्र, लोकतन्त्र भनिन्छ।
इतिहासका विविध कालखण्डमा संसारका कतिपय मुलुकमा ठूला-ठूला तानाशाहको जन्म भएको छ। ती तानशाहले आफ्नो मुलुकमा तानशाही (अधिनायकवाद) कायम गरेर जनतालाई दास र आफूलाई मालिक (इश्वर) घोषणा गर्दै जनताको रगत तनतनी पिएका घटना इतिहासको पानामा दर्ज भएका छन्। त्यसैले त्यो देश देश भएर पनि देश हुन सकेन, ती जनता जनता भएर पनि जनता हुन सकेनन्। तानाशाहहरूको लक्ष्य हुन्छ : जनतालाई सधैं अन्धकारमा सडाउने। शिक्षा, स्वास्थ्य, सुरक्षा, गास, बास, कपास आदि मौलिक अधिकारबाट बञ्चित गर्ने। सूचनाको हकबाट विमुख राख्ने। दासरुपी जनता सदासर्वदा तानाशाहको इच्छा मुताविक चल्नुपर्ने। तानशाहहरू जनतालाई अधिकार दिन किन चाहदैनन् भने जनतालाई अधिकार दिँदा जनता सचेत हुन्छन् र उनीहरूको तानशाही सत्ता पल्र्टाई दिन्छन् भन्ने उनीहरूलाई ठूलो भय हुन्छ। उदाहरणका लागि राणा चन्द्रशमसेरले त्रि-चन्द्र कलेजको स्थापना गर्दा शिलान्यासको बेला भनेका थिए रे-“आजदेखि मैले राणाहरूको मुटुमा फलामे कीला गाडेँ।” यसो भन्नुको तार्त्पर्य थियो : पढेपछि जनता सचेत हुन्छन् र हाम्रो अत्याचारी, तानाशाही शासन व्यवस्था समाप्त पार्छन्। आखिर भयो पनि त्यस्तै। जनताका छोराहरू तानाशाही राणा शासनका विरुद्ध हाँसी-हाँसी सहिद भए। त्यसकै परिणाम स्वरुप राणाशाही समाप्त भयो।
यी कुरा इतिकासमा सबैले पढेकै विषय हुन्। मेरो भनाइको तार्त्पर्य के हो भने एक सय चार वर्ष राणाले तानाशाही चलाउँदा के नेपाली जतना हुन सके, सकेनन्। जनता केवल राणाशाहीका दास भए। के नेपाल त्यति बेला देश थियो, थिएन। नाममात्रको देश राणाशाहीको क्रीडास्थल थियो। त्यसैले जतना जनता हुन स्वधीन हुनुपर्छ र देश देश हुन स्वाधीन मुलुक हुनुपर्छ। राजा महेन्द्रले पनि तीस वर्ष पञ्चायत नामको सैनिक शासन जनतामा लादेर तानाशाही नै चलाए। यसरी नै संसारमा धेरै साम्राज्यवादी उदाए र अस्ताउँदै गए। हिटलर, मुसोलिनीजस्ता तानाशहहरु पनि संसारमा आए र समाप्त भए। त्यसैले तानाशाहहरूको भविष्य अन्धकारतर्फ नै सदा उन्मुख हुन्छ।
हरेक जनताको मुखबाट सुन्ने गरिन्छ-’राजनीति फोहरी खेल रहेछ।’ जनता राजनीतिबाट वाक्कदिक्क भएर यसो भनेका हुन्। वास्तवमा राजनीति फोहरी खेल हुँदै होइन। राजनीति त वास्तवमा जनतालाई सुखी, सम्पन्नशाली बनाउने, देशलाई समृद्धिको शिखरमा पुर्याउने, आन्तरिक र बाहृय राष्ट्रियतालाई सुदृढ बनाउने, जनताका मौलिक हकको संरक्षण गर्ने एउटा विशिष्ट, उदान्त, अनुपम, सवल र सौर्न्दर्यपूर्ण नीति हो। राजनीति कसरी फोहरी खेल हुन सक्छ – राजनीतिलाई त हाम्रा अगुवा नेताहरूले नै फोहरी खेल बनाएका हुन्। त्यसैले जनता दिग्भ्रमित छन्। नेताहरूले नै राजनीतिलाई फोहरी खेल बनाएका कारण सँगसँगै जस्तो स्वतन्त्र भएका छिमेकी देशहरू भारत र चीन प्रगतिको कति माथिल्लो सिंढी चढिसके। हामी अझै सय वर्षअघिको जङ्गली अवस्थामा छौं। देशलाई यो दुर्गतिको दलदलमा भसाउने नेताहरू देश र जनताका भक्त हुन् भने जनतासँग माफी माग्नुपर्ने कि नपर्ने – नेताहरूलाई पीपलपाते धुपौरे र चम्चेहरूले दिग्भ्रमित पारेका छन्। नेतागण ती धुपौरेबाट मुक्त हुने कि नहुने ?
प्रतिक्रिया दिनुहोस्