राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा देशभर छरिएका रहेका नेता, कार्यकर्तासँग भर्चुअल छलफल गर्न थालेका छन्। कोभिड–१९ को महामारीका कारण राजनीतिक गतिविधि ठप्प भएको समयमा राप्रपा अध्यक्ष थापा देशव्यापी रूपमा नेता, कार्यकर्तासँग भर्चुअल बैठकमा व्यस्त बनेका हुन्। बैठकमा कोभिड–१९ को प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनामक्रम, पार्टी एकता र भावी योजनाका बारेमा छलफल हुने गरेको छ। छलफलमा थापाले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनका लागि क्रियाशील हुन नेता कार्यकर्ताहरूलाई अपील गरेका छन्।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावाद अहिलेको डरलाग्दो समस्या भएको भन्दै मुलुकलाई समृद्धिको दिशामा लैजानका लागि राप्रपाले अवलम्बन गरेको मार्गचित्रबाट मात्र सम्भव हुने दाबी गरे। झण्डै दुईतिहाइको बहुमतप्राप्त सरकार जनताको नजरमा दिन प्रतिदिन असक्षम सावित हुँदै गएको र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहीन देखिएकोले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न संगठन केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफूले प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको थापाले सहभागीहरूलाई जानकारी गराएका छन्।  भर्चुअल बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय संगठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले बताए। बैठकमा सहभागी नेताहरूले अहिलेको अवस्थामा पार्टीं एकता आवश्यक भएकोले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन सुझाव दिएका बर्तौलाले बताए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।