हेटौंडा– हेटौँडाकी एक सामाजिक अभियान्ता जो कोरोना महामारीकै बीच दुःख, पीडामा परेकाहरूको सहारा बनिन् । दिन दुःखी र समस्यामा परेकालाई उनी अनवरत् सहयोग गर्न खटिइन् । तर, आज उनै अभियान्ता छरछिमेकबाट तिरस्कृत भएकी छन् । कोरोना संक्रमण पुष्टि भएपछि छिमेकीले तिरस्कार गरेको पाइएको छ । ‘म सधैँ छिमेकीको सहयोगमा लागिरहेँ । आज मलाई कोरोना देखिएपछि छिमेकी नै मलाई गाली गर्न थाले,’ संक्रमित सामाजिक अभियन्ता भन्छिन् । \

संक्रमित महिला हेटौँडा–१० राममन्दिर निवासी राजनीतिककर्मी हुन् । उनलाई स्थानीयले समाजसेवीका रूपमा लिन्छन् । ‘कोरोना महामारीको बीच उनी धेरैको सहारा बनिन् । खान नपाएकालाई खान, बास नपाएकालाई बास दिइन् । गरिब, विपन्नलाई कहिल्यै पेट भोको हुन दिइनन् । आज उनलाई नै यस्तो व्यवहार भयो भन्ने सुनेपछि दुःख लागेर आयो,’ स्थानीय एक वृद्धले भने ।

उनलाई हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कारोना प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको सम्पर्कमा आएकाले कन्ट्याक ट्रेसिङका क्रममा २६ साउनमा कोरोना परीक्षणको लागि उनको स्वाब संकलन गरिएको थियो । हेटौँडा–१० स्थित बसपार्क प्रहरी चौकीमा कार्यरत प्रहरीलाई कोरोना देखिएपछि उनको स्वाब पनि परीक्षण गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि छिमेकीबाट आफूलाई मानसिक तनाब भएको बताइन् । संक्रमणको अवस्थामा मनलाई शान्त पार्न खोजेको तर, स्थानीयको थ्रेटको कारण आफूलाई तनाव भएको उनको गुनासो छ । छमेकीले संक्रमण भएपछि पनि डुलेको भन्दै गाउँ नै सखाप पर्ने भइस भनेर आफूलाई तनाब दिएको बताएकी हुन् । ‘म घर बाहिर मास्क लगाएर बसेको हुन्छु । तर, स्थानीयले बाहिर अनुहार नै नदेखा र ढोका लगाएर भित्र बस भन्छन्,’ संक्रमित महिलाले फोनमा भनिन्, ‘यसलाई कोरोना लागेछ, अब तैले गाउँ नै सखाप पार्नी भइस भनेर गाली गरे ।’ छिमेकमा राति १० बजेसम्म बैठक बसेर आफूलाई गाली गरेको उनको भनाइ छ । शिलापत्र डटकमबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।