file photo

कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म देशभर १ सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित थिए। त्यसयता पनि देशभरका विभिन्न अस्पतालहरूमा थप स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यो संख्या दिनहुँ बढ्दो क्रममा छ। हालसम्म प्रदेश १ मा आठजना स्वास्थ्यकर्मी संक्रमित छन्। त्यस्तै प्रदेश २ मा ७८ जना र बागमती प्रदेशमा १६ जना स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशमा संक्रमित स्वास्थ्यकर्मीको संख्या २० पुगेको छ भने प्रदेश ५ मा महिला १२ र कर्णाली प्रदेशमा २२ जना स्वास्थ्यकर्मी संक्रमित छन्। सुदूरपश्चिम प्रदेशमा २७ जना छन्।

नोबल मेडिकल कलेज विराटनगर र वीर अस्पतालमा कार्यरत दुईजना चिकित्सकको शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मुलुकभरका अस्पतालमा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र कामकाजमा लगाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘फ्रन्ट लाइनमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई अनिवार्यरूपमा पीसीआर परीक्षण गराई कामकाजमा लगाउनु पर्छ।’

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुई चिकित्सक र चारजना नर्स संक्रमित छन्। त्यस्तै कपिलवस्तु जिल्ला अस्पतालका डाक्टर, नर्स र प्रयोगशालाकर्मीसहित १६ जना संक्रमित छन्। वीर अस्पतालका तीनजना चिकित्सकमा यसअघि नै कोरोना संक्रमणको पुष्टि भइसकेको छ।

कोरोना संक्रमितको दिनहुँ मृत्यु

कोरोना भाइरसको संक्रमणसँगै संक्रमितको मृत्यु हुने संख्या पनि दिनहुँ बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म ९५ जनाको संक्रमणबाट ज्यान गएको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार, धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरका ८५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिइन्। अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षीय पुरुषको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा ज्यान गएको छ। उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए। त्यस्तै मोरङको विराटनगर—३ का ५७ वर्षीय पुरुषको कोसी अस्पतालमा निधन भएको छ। उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए। त्यस्तै महोत्तरी मटिहानी नगरपालिका– ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको उपचारको क्रममा रामजानकी अस्पतालमा मृत्यु भएको हो। उनी क्षयरोग तथा मधुमेहका रोगबाट ग्रसित थिए। प्रवक्ता गौतमका अनुसार, हालसम्म कोरोना संक्रमणबाट ९५ जनाको ज्यान गएको छ। कोरोना संक्रमितको मृत्युदर शून्य दशमलव ४ प्रतिशत रहेको छ।

५२५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मुलुकभर ५ सय २५ जना नयाँ संक्रमित थपिएका छन्। हालसम्म २४ हजार ९ सय ५७ जनामा संक्रमण देखिएको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगेको छ। उनीहरू आइसोलेसनमा उपचाररत छन्। कोरोना संक्रमितमध्ये १६ हजार ८ सय ३७ जना उपचारपछि घर फर्किएका छन्। विशेषगरी घनाबस्ती भएका जिल्ला र सहरी क्षेत्रमा संक्रमण बढेको छ। सपिङ मल, रेस्टुरेन्टलगायतका उद्योग व्यवसायमा धेरैको सम्पर्क हुने र जोखिम बढ्ने अवस्था छ। यस्ता व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न मन्त्रालयले अनुरोध गरेको छ।

काठमाडौं उपत्यकामा १५ सय सक्रमित

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ९ पुगेको छ। स्वास्थ्य सेवा विभागका अनुसार, संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा १ हजार २ सय ७८ जना छन्। त्यस्तै ललितपुरमा १ सय ९१ र भक्तपुरमा १ सय ९ जना संक्रमित छन्।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढेको बताउँछन्। उपत्यकाका विभिन्न स्थानमा सामुदायिक पसल खडा गरेर मास्क र सेनिटाइजरको वितरण व्यवस्था गर्नुपर्ने बताए। उनले भने, ‘मास्क नलगाउने, सेनिटाइजर नबोक्ने र भौतिक दूरी कायम नगर्ने प्रवृत्ति छ। सुरक्षा मापदण्डको पालना नगर्दा संक्रमण वृद्धि भइरहेको हो।’

डा. प्याकुरेल मास्क नलगाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने खाँचो रहेको बताउँछन्। ‘मास्क नलगाएको र सेनिटाइजर नबोकी हिँडेको पाइए जरिवाना गरेर मात्र हुँदैन। जरिवाना तिर्ने र उम्कने गर्छन्। त्यस्तालाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ।’ मुलुकका विभिन्न क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन्।

दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।