एजेन्सी । स्पेनिस क्लब सेभिल्ला युरोपको दोस्रो ठूलो फुबटल प्रतियोगिता युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाइनल खेलमा इंग्लिस क्लब वुल्भसमाथि १–० गोलको जित निकाल्दै सर्वाधिक धेरै पाँच पटकको युरोपा लिग विजेता सेभिल्ला अन्तिम चारमा पुगको हो ।

जर्मनीको एमएसभी एरिनामा भएको खेलमा सेभिल्लालाई जिताउन एक मात्र गोल लुकास ओकाम्पोसले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८८औं मिनेटमा ओकाम्पोसले गोल गर्दै सेभिल्लालाई जित दिलाए ।

जितसँगै सेभिल्लाले म्यानचेस्टर युनाइटेडसँगको भेट पक्का गरेको छ । युनाइटेडले कोपेनहागेममाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ । युनाइटेड र सेभिल्लाले १७ अगस्टमा फाइनल प्रवेशका लागि खेल्नेछन् ।

यसैगरी मंगलबार रातिकै अर्को खेलमा युक्रेनको शख्तर डोनेस्कले स्वीस फुटबल क्लब बसेललाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

अब डोनेस्कले इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । इन्टरले जर्मन क्लब लिभरकुसेनमाथि जित निकाल्दै अन्तिम चारमा स्थान बनाएकाे हाे । डाेनेस्क र इन्टरबीचकाे खेल १७ अगस्टमा हुनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।