डा.यम सिलवाल-मकवानपुर वा खासगरी हेटौंडामा आफ्नो जीवनकालको स्वर्णिम समय गुजारेका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरु जीवनको उत्तराद्र्घतिर आइपुग्दा यस ठाउँलाई छाडेर काठमाण्डौं तिर बसाईं सर्न बाद्य हुनु पर्ने नियति भोग्दै आइरहेकाछन् । कसैलाई पनि यहाँबाट बसाईं सर्ने इच्छा भएको हैन, तर बिवस भएर जान परेको गुनासो रहँदै आएको छ । त्यसको एउटै कारण हो स्वास्थ्य सेवाको अभाव । उद्योग, व्यापार, यातायात, शिक्षा आदि क्षेत्रमा विकास भएता पनि यहाँको स्वास्थ्य सेवा दयनिय रहदै आएको छ । सामान्य विरामी पर्दा पनि बाहिर जान पर्ने बाध्यता रहिआएको छ ।

गएको हप्ता मकवानपुरबासीका लागि स्वास्थ्य सुविधा सुनिश्चितताको हिसाबले कोशेढुङ्गा साबित हुने निश्चित भएको छ । बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको नियुक्ति तथा पदस्थापनाले प्रतिष्ठानको कार्य प्रारम्भ औपचारिक रुपमा भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यान्वयनसंगै यसले स्वास्थ्य क्षेत्रमा बहुअवयामिक परिवर्तन ल्याउने निश्चित छ । अब हेटौंडामा नै एमबिबिएस लगायतका स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उच्च स्तरिय शैक्षिक कार्यक्रमहरुको पठनपाठन हुनेछ तथा शिक्षण अस्पताल सञ्चालन हुनेछ । यसका लागि आवश्यक भवन तथा अन्य भौतिक पुर्वाधार निर्माण तिब्र गतिमा भइरहेकाछन । आधुनिक उपकरणहरु आउने र जडान गर्ने काम भइरहेकोछ । विभिन्न विषयका विषेशज्ञ प्राध्यापक डाक्टरहरु यहाँ रहनेछन । जटिल किसिमका स्वास्थ्य उपचारहरु पनि अब हेटौंडा मै संभव हुनेछ । मकवानपुर जिल्लाबासीले मात्र हैन, छिमेकी जिल्लाका र तराईका आम जनताहरुले समेत हेटौंडामा स्वास्थ्य उपचार सेवा पाउने भएकाछन । यसको प्रभाव जनजिविका र दैनिक जीवनमा पर्नेछ । परिवारका सदस्य विरामी पर्दा बाहिर लिएर जानपर्दा लाग्ने अतिरिक्त खर्च बच्नेछ भने विरामी कुरुवा तथा विरामी भेट्न टाढा जान पर्ने आफन्त तथा शुभचिन्तकहरुको समय र खर्च बचत हुने, जोखिम कम हुने र तमाम तनावहरु समेत कम हुनेछ ।

यस स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालनसंगै स्थानिय अर्थतन्त्रले पनि महत्वपुर्ण फड्को मार्नेछ । औषधि, स्वास्थ्य सामग्री, ल्याब, क्लिनिक, आवास, भोजन, यातायात आदि क्षेत्रको आर्थिक कारोवारमा उल्लेख्य बढोत्तरी मिल्नेछ । यसले अनेकन व्यवसायिक अवसरहरु दिनेछ । स्वास्थ्य सेवाको सुनिश्चितताले बाह्य लगानीकर्ताहरुलाई पनि आकर्षित गर्दछ । यहाका जनतामा आत्मविश्वास, आत्मबल र अत्मसम्मान बढाउनुका साथै स्थिर सम्पत्तिहरु (घर जग्गा तथा व्यवसायिक संगठन) को मुल्य पनि बढाउनेछ ।

विद्यालय शिक्षा र उच्च शिक्षाका लागि विभिन्न छिमेकका जिल्लाहरु बाट ठूलो संख्यामा विद्यार्थिहरु हेटौंडामा विगत एक दशक देखि आउने गरेका थिए । अब चिकित्सा शिक्षाका लागि समेत हेटौंडामा देश भरका विद्यार्थिहरु आउनेछन । स्वास्थ्य सेवा सम्बन्धि खोज तथा अनुसन्धान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि हुनेछ । यसबाट हेटौंडाको हिजोको पहिचान सवारी चालक र सहचालकको बस्ती भनेर जानिन्थ्यो भने अब शिक्षा स्वास्थ्य तथा औद्योगिक राजधानीका रुपमा नयाँ चिनारी बन्ने पक्का छ । प्रदेश सरकारले विश्वविद्यालय पनि खोल्ने तयारी गरेकाले यसमा थप योगदान मिल्ने छ ।

मकवानपुरमा केन्द्र सम्म पहुच र दखल राख्ने राजनीतिक नेतृत्व नभएकाले विकासमा पछि पर्नुपरेको आम जनतामा गुनासो रहदैआएको थियो । बामपन्थि दलहरु पटक पटक निर्वाचनमा विजयी भएता पनि मकवानपुरमा स्वास्थ्य सेवाको क्षेत्रमा विकास हुन सकिरहेको थिएन । गत निर्वाचन पश्चात देशमा भर्खर कार्यान्वयनमा आएको संघिय संरचनामा प्रदेशको मुख्यमन्त्री मकवानपुरका माननिय बन्न सफल हुनु र प्रदेशको स्थायी राजधानी हेटौंडा तोक्ने र प्रदेशको नामाकरण गर्ने जस्ता जटिल काम मकवानपुर कै नेतृत्वमा सम्पन्न भएकोले अब केन्द्र सम्म पहुच र दखल स्थापित भएकोमा शंका रहेन । त्यतिमात्र हैन, बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षि दलका नेता पनि मकवानपुर कै हुनुले थप बल पुगेको छ । त्यसैले मकवानपुर जिल्लाको विकासका अन्य क्षेत्रमा तिब्रता संगै स्वास्थ्य सेवाको पनि विकासको जग हाल्ने काम भएकोछ ।

यसको श्रेय स्वभाविक रुपमा सत्तारुढ दल र प्रदेश मुख्यमन्त्रीलाई जान्छ । यसो भनिरहदा हिजो आज आफु नेतृत्वमा हुदा गर्न नसकेका कामहरु अर्कैको नेतृत्वमा भएको देखेर मन दुखाउने, ओठ लेप््रयाउने, मुख खुम्च्याउने, इस्र्या गर्ने अनि असहयोग तथा अवरोध गर्ने जस्तो महारोग राजनीतिक नेतृत्वहरुमा केन्द्र देखि तल्लो तहसम्म देखिएको छ जुन किमार्थ राम्रो होईन । आफु नेतृत्वमा हुदा रचनात्मक कामहरु किन गर्न सकिएन भनेर आफ्नो कमजोरीहरु केलाएर आत्मसाथ गरेर सुधारेर जानु चै बुद्घिपुर्ण हुन्छ । जसरी मकवानपुरका सबै दश वटै स्थानिय तहहरुले राम्रो काम गरि रहेकाछन । तर थाहा नगर देश मै अब्बल देखियो र यसको श्रेय त्यहाका नगर प्रमुखलाई जान्छ नै । यद्यपि सबैको सहयोगबाटै यस्ता सफलता हात पर्छन ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस भेगमा पार्ने दुरगामी सकारात्मक प्रभावबाट लाभान्भित हुन यस प्रतिष्ठानको सफल कार्यान्वयनका लागि सम्पूर्ण स्थानिय जिल्लाबसीहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने दायित्व हुन आउदछ । सत्तारुढ दलमा देखिएको केन्द्रदेखि जिल्ला सम्मको चरम गुट उपगुटको कारणले यस प्रतिष्ठानलाई अगाडी बढाउन असहयोग तथा अर्गेल्याई हुनुहुदैन । सबैले यसको स्वामित्व लिनु पर्दछ सकारात्मक भुमिका निर्वाह गर्नुपर्छ । किनकि यो आम जनहितको काम हो । यदि कहिं कतै बाट प्रतिष्ठानलाई अगाडी बढाउन अवरोध गरिन्छ भने जनताहरु बाट कडा निगरानी र खबरदारी गरिनु आवश्यक छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।