एजेन्सी । बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार राउन्ड अफ १६ को दोस्रो लेगमा नेपोलीलाई ३-१ ले पराजित गर्दै बार्सिलोना अगाडी बढेको हो । समग्रमा बार्सिलोनाले ४-२ को जित आत्मसात गर्यो । बार्सिलोनाको मैदान क्याम्प नोउमा खेलको दोस्रो मिनेटमा नै नेपोलीले अग्रता लिने सुवर्ण अवसर गुमायो । डिफेन्डर जेरार्ड पिकेले बल क्लियर गर्ने प्रयासमा चुक्दा पाएको अवसरमा ड्रीज मर्टेन्सको प्रहारले पोस्टको दिशा लिन सकेन । आठौं मिनेटमा पिटर जिलेन्स्कीको प्रहारले गोलरक्षक मार्क आन्दर टेर स्टेगनलाई कुनै कष्ट दिएन ।

खेलको दशौँ मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता बनायो । कप्तान लिओनेल मेस्सीको प्रहार डिफ्लेक्ट हुँदै बाहिरीपछि पाएको कर्नरमा बार्सिलोना गोल गर्न सफल रहयो । इभान राकिटिचको कर्नर प्रहारमा क्लेमेन्ट लेङलेटको हेडर गोलमा परिणत भएको थियो । कर्नरका क्रममा नेपोलीका डिएगो डेम्मेलाई लेङलेटले धकेलेपनि रेफ्रीले भिएआरको सहायताले गोललाई मान्यता दिए । १४ औं मिनेटमा राकीटिचको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२२ औं मिनेटमा कप्तान मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । नेपोलीको पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रणमा लिएका उनले सुरुवातमा तीन डिफेन्डरलाई बिट गर्दै लडेपछि त्यसै मुभमा दुई डिफेन्डरको बीचबाट गरेको प्रहार गोल भएको थियो । नेपोलीका गोलरक्षक डेविड ओस्पिनाले बल बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै बल गोल भएको थियो ।

३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडी बढाएपनि भीएआरले गोललाई मान्यता दिएन । लुइस सुआरेजको प्रहार गोलरक्षक ओस्पिनाले बचाएपछि रिबाउन्ड फ्रेकी डे जोङको खुट्टामा पुगेको थियो । डे जोङले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उत्कृष्ट पास निकाल्दै मेस्सीलाई दिएपछि कप्तान मेस्सीले बल नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गरे । बल नियन्त्रणमा लिने क्रममा मेस्सीले हातले बल छोएपछि गोलले मान्यता पाएको थिएन ।

खेलको ४१ औं मिनेटमा नेपोलीका कालिडु कौलिबालीले बल क्लियर गर्ने प्रयासमा मेस्सीलाई फल गर्न पुग्दा रेफ्रीले भीएआरको मदत लिँदै बार्सिलोनालाई पेनाल्टी दिए । मेस्सी र कौलिबालीको चोटका कारण खेल केहिबेर रोकिएपनि भीएआरको निर्णयपछि लुइस सुआरेजले पेनाल्टी लिए । सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडी बढाए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा मिडफिल्डर राकीटिचले मर्टेन्सलाई लडाएपछि रेफ्रीले नेपोलीलाई पेनाल्टी दिए । कप्तान इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेलमा नेपालीको सम्भावना जिवितै राखे । अन्तिम समयमा जोसे क्यालेहोनले अवसर सदुपयोग गर्न नसक्दा नेपोलीले अन्तर घटाउने मौका गुमायो ।

दोस्रो हाफको ५२ औं मिनेटमा मर्टेन्सको हेडरलाई गोलरक्षक टेर स्टेगनले सहजै बचाए । ६० औं मिनेटमा राकीटिचको फ्रिकिकले कुनै खतरा निम्त्याउन सकेन । ६७ औं मिनेटमा बार्सिलोनाको काउन्टर अट्याकमा मेस्सीको एक्रोब्याटिक पास सफल हुन नसक्दा स्कोर ३-१ नै कायम रहेको थियो । ८० औं मिनेटमा अर्काडीयुस्ज मिलिकले गोल गरेपनि रेफ्रीले उक्त मुभलाई अफसाइड दिँदै गोललाई मान्यता दिएनन् ।

खेलको ८५ औं मिनेटमा हर्भीङ लोजानोको हेडर पोस्टमा लाग्दै फर्कंदा नेपोली खेलमा फर्कने अवसरबाट बन्चित भयो । नेपोलीले अन्तिम पाँच मिनेटमा लगातार बल पोसेसन राख्दै आक्रमणमा दबाब दिएपनि गोल गर्न भने सकेन ।

अब बार्सिलोनाले क्वाटरफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले चेल्सीलाई समग्रमा ७-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा ३-० को जित दर्ता गरेको बायार्नले शनिबार ४-१ को जित हासिल गरेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा कोरेन्टिन टोलिसो र इभान पेरिसिचले १-१ गोल गरे । चेल्सीका ट्यामी अब्राहमले सान्त्वना गोल फर्काएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।