अफगानिस्तानमा घरेलु हिंसाबाट पीडित एक महिलालाई उनका पतिले रिसको सुरमा नाक काटिदिएका छन् । रक्ताम्मे भएकी पत्नीलाई छोडेर पति हिँडिदिए । एक सर्जनले महिलाको नाकको शल्यक्रिया गरेका छन् ।

१० हप्तासम्म पीडा सहेकी जर्का नामक ती महिलाको शल्यक्रिया भएपछि पट्टी खोलियो । उनले त्यतिखेर चिकित्सकहरूलाई भनिन्, ‘मेरो नाक फिर्ता पाएकोमा खुशी छु ।’

अफगानिस्तानमा महिलामाथिको हिंसा व्यापक रूपमा हुने गरेको छ । एक राष्ट्रिय सर्वेक्षणले देखाएअनुसार, ८७ प्रतिशत अफगान महिलालाई शारीरिक, यौन तथा मनोवैज्ञानिक हिंसाको कुनै न कुनै किसिमको घटना हुने गरेको छ ।

हिंसाको सबभन्दा खराब घटनामा महिलाका पति वा पुरुष नातेदारले उनीहरूमाथि एसिड वा चक्कु प्रहार गर्ने गरेका छन् ।

जर्का भन्छिन्, ‘मेरा पति सबैलाई शंका गरिरहन्थे । म अनैतिक व्यक्ति भएको उनी बताइरहन्थे । मैले यो झूटो भएको उनलाई भनेको थिएँ ।’

विभिन्न आरोप लगाउँदै पतिले जर्कालाई दिनदिनै कुटपिट गर्थे ।

२८ वर्षीया जर्काको विवाह भएको १० वर्ष बितिसकेको छ । उनको ६ वर्षको छोरा छ । पतिले दिनदिनै पिट्ने गरेको भए पनि नाकै काट्नेसम्मको घटना होला भनी नसोचेको जर्का बताउँछिन् ।

जर्काले भनिन्, ‘मैले आफूलाई ऐनामा हेर्दा नाक जोडिएको पाएँ ।’

तीन घन्टाको शल्यक्रियाका दौरान उनलाई लोकल एनेस्थेसिया दिइएको थियो ।

युद्धको त्रासदी झेलिरहेको अफगानिस्तानमा यसरी अनुहार रिकन्सट्रक्सन गर्न समर्थ सीमित सर्जमा डा जलमई खान अहमदजई पर्छन् । जर्काको स्वास्थ्य सुध्रिएकोमा उनी निकै खुशी छन् ।

उनले भने, ‘जर्काको शल्यक्रिया राम्रो रह्यो । उनलाई कुनै संक्रमण छैन ।’

विगत एक दशकदेखि डा जलमईले शारीरिक क्षति गरिएका महिलाको उपचार गरिरहेका छन् ।

अनुहार विकृत पार्ने काम इस्लाममा वर्जित छ तैपनि यो क्रूर काम भइरहने गरेको छ ।

बीबीसीबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।