एजेन्सी । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । अन्तिम १६ को दास्रो लेगमा जित निकाले पनि अवे गोलका आधारमा युभेन्टस क्वार्टरफाइनल नपुगी च्याम्पियन्स लिगबाट आउट भएको हो ।

शुक्रबार राति भएको खेलमा युभेन्टसले फ्रेन्च क्लब लियोनमाथि २–१ गोलको जित निकालेको थियो । तर, लियाेनको मैदानमा पहिलो लेगमा १–० गोलले पराजित भएको युभेन्टस अवे गोलका आधारमा पछि परेको हो । समग्रमा २–२ को नतिजा भए पनि अवे गोलका आधारमा युभेन्टस च्याम्पियन्स लिगकाे अन्तिम १६ भन्दा अगाडि बढ्न सकेन । शुक्रबार युभेन्टसको मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । यता, लियोनका मेम्फिस डिपेले एक गोल गरेका थिए ।

खेलमा लियोनले सुरुआती अग्रता बनाएको थियो । खेलको १२औं मिनेटमा लियोनका कप्तान मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । डी एरियामा औरमाथि युभेन्टसका बर्नान्डेस्चीले खराब ट्याकल गरेपछि रेफ्रीले भीएआरको सहायतामा लयोनलाई पेनाल्टी दिएका थिए । जसमा दोस्रो लेगको खेलबाट मैदान फिरेका डिपेले गोल गरे । यस्तै खेलको ४३औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पायो । युभेन्टसका मिरालेम पियानिकाले प्रहार गरेको फ्रिकिकमा लियोनका कप्तान डिपेको हातमा ठोक्किन गएको थियो ।

जसमा रेफ्रीले डिपेलाई पहेँलो कार्ड दिँदै युभेन्टसलाई पेनाल्टीको मौका दिएका थिए । जसमा, क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई पहिलो हाफभरि बराबरीमा फर्काएका थिए । यस्तै खेलको ६०औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । उनले फेडेरिको बर्नान्डेस्चीको पासमा गोल गर्दै युभेन्टसलाई जित दिलाए ।

यता, लियोनविरुद्ध २ गाेल गरेसँगै रोनाल्डोले युभेन्टसमा नयाँ कीर्तिमान बनाए । उनले एकै सिजनमा युभेन्टसबाट सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए ।

रोनाल्डोले ९५ वर्षको पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् १९३३–३४ को सिजनमा युभेन्टसका लागि फेलिस प्लासीडो बोरेलले एकै सिजनमा सर्वाधिक ३६ गोल गरेका थिए । ३५ वर्षीय रोनाल्डोले यस सिजन मात्र युभेन्टसबाट ३७ गोल गरेका छन् । तर, दाेस्राे लेगमा युभेन्टसले जित निकाले पनि च्याम्पियन्स लिगबाट बाहिरिन पुग्यो । यता, लियोनले भने अन्तिम आठमा स्थान बनायो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।