प्रधानमन्त्रीले माडीका जनप्रतिनिधिलाई भने- 'अयोध्यापूरीमा वृहत धाम र राममन्दिर बनाउनुस्, खर्च हामी दिन्छौं'

हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित् अयोध्यापूरीमा वृहत धाम र राममन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।

चितवनको माडीस्थित् अयोध्यापूरी नै भगवान रामको वास्तविक जन्मभूमि भएको दोहोर्‍याउँदै उनले आवश्यक खर्च सरकारले बेहोर्ने भन्दै यसलाई धामको रुपमा विकास गर्ने विस्तृत गुरुयोजना बनाएर अघि बढ्न माडी नगरपालिकालाई निर्देशन दिएका हुन्। उनले माडी नगरपालिकाको नाम समेत परिवर्तन गरि अयोध्यापुरी राख्न समेत सुझाव दिएका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालसहित त्यहाँका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसंग आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अयोध्यापूरीको विकासका लागि गरिने सम्पूर्ण कामका लागि राज्यले आर्थिक लगानी गर्ने बताए।

उक्त टोलीमा सहभागी नेकपा माडी नगरकमिटी सचिव एवम् अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेलका अनुसार प्रधानमन्त्री ओलीले राम लक्ष्मण र सीतासहितको आकर्षक शालिक निर्माण गरी आउँदो वर्षको रामनवमीमा अनावरण गर्ने गरी काम थाल्न भनेका थिए।

“शास्त्रीय हिसाबले अन्यत्र जति अयोध्यापूरी नाम रहेपनि माडीको अयोध्यापूरी बाहेक अन्य स्थान रामको जन्म भएको ठाउँ होइन। शास्त्रले यसको पुष्टि गर्दछ भन्ने कुरा राख्नुभयो,” पौडेलले भने “तपाँइहरू ढुक्कले अघि बढ्नुस, आर्थिक कुरामा हामी लगानी गर्छौं। वृहत धामको रुपमा विकास गर्ने गरी गुरुयोजना बनाउनुस् भनेर विश्वास दिलाउनुभयो।”

प्रधानमन्त्री ओलीले वृहत धाम र राम मन्दिर निर्माण गर्ने गरी तयारी थाल्न र फराकिलो जग्गा खोज्न टोलीलाई निदेशन दिएका छन्। प्रधानमन्त्रीसंगको भेटपछि आफूहरू एकदमै उत्साहित भएको पौडेलले बताए।

त्यसैगरी ओलीले बाल्मिकि ठोरी र जनकपुरलाई जोड्ने गरी गुरुयोजना बनाउनेमा समेत जोड दिएका छन्। प्रधानमन्त्री ओलीले केही दिनअघि चितवन राष्ट्रिय निकुञ्जको कुसुम खोलामा भएको आगजनी र चेपागं वस्तीको बारेमा समेत चासो राखेका थिए।

प्रधानमन्त्री ओलीले सरकारले वन फंडानी सम्वन्धी गठीत समितिलाई कुसुम खोलाको घटनाका बारेमा समेत अध्ययन गर्न भनेको र उक्त समितिले दिने प्रतिवेदन अध्ययनपछि वस्ती व्यवस्थापनको काम शुरु गर्ने बताएका थिए।

कुसुम खोलामा रहेका बाँकी घरहरूलाई सहरी विकास मन्त्रालयसंगको समन्वयमा अन्यत्र व्यवस्थित गर्ने बताएको पौडेलले जानकारी दिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।