काठमाण्डौ उपत्यकामा कोरोना भाइरस संक्रमण न्युनिकरणको लागि १५ दिन सटडाउन हुने भएको छ । आगामी आइतबारदेखि लागु हुनेगरी सटडाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सटडाउनको निर्णय गरेको हो । बैठकले आइतबारदेखि लागु हुनेगरी १५ दिनको लागि सटडाउनको निर्णय गरेको हो ।

बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिए।

बैंठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइको साथ पालना गराउने र स्थानीय तहहरुलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि गरेको दाहालले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गरिएको दाहालले बताए । सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन्, भने आंशिक कार्यलय खोलेर अत्यावश्यक सेवाहरु दिने निर्णय भएको हो ।

सटडाउन भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यलयहरुमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।