सांकेतिक तस्विर

कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लाश घरमै राखिएको छ ।

स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लाश रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए ।

कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो । मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए ।

पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए । पाष्टर चौधरी पनि लाशमा पसिना आएर गन्ध आएको र लाश उठ्ने विश्वासमै थिए तर मङ्गलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउँछन् ।

पाष्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए ।

मङ्गलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको छ । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।