एजेन्सी । च्याम्पियन्स लिगअघि बार्सिलोनालाई खुशीको अनुभूति मिलेको छ । आफ्ना स्टार खेलाडीद्वय एन्टोइन ग्रिजम्यान र क्लिमेन्ट लेंग्लेट चोटमुक्त भइ प्रशिक्षण फर्किएपछि च्याम्पियन्स लिगअघि बार्सिलोनालाई खुशीको अनुभूति मिलेको हो । आगामी शनिबार बार्सिलोनाले च्याम्पियन्स लिगमा इटालियन क्लब नापोलीसँग अन्तिम १६ को दोस्रो लेगको खेल खेल्दैछ । क्याप नोउमा हुने यो खेलमा ग्रिजम्यान र लेंग्लेटले खेल्न सक्ने सम्भावना देखिएको छ ।

दुई फ्रेन्च खेलाडी ग्रिजम्यान र लेंग्लेटले ला लिगाका अन्तिमका खेल गुमाएका थिए । तर अब भने उनीहरू चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । तथापि, उनीहरू मेडिकलको अनुमतिको पर्खाइमा छन्, जुन उनीहरूले केही दिनमा नै पाउनेछन् । लेंग्लेटले अब घाइते रहेका सामुअल उम्टिटी र रोनाल्ड अराउजोको स्थान सम्हाल्नेछन् । उनले डिफेन्डर जेरार्ड पिकेलाई सहयोग गर्नेछन् ।

यता, ग्रिजम्यान भने कप्तान लियोनल मेस्सी र लुइस स्वारेजलाई फरवार्ड लाइनमा साथ दिनेछन् । ग्रिजम्यानले चोट बोकेपछि प्रशिक्षक क्वीक सेटिनले उनको स्थानमा अन्सु फातिलाई खेलाएका थिए । अन्सुले पनि सेटिनले दिएको मौका खेर फालेनन् । यता, अन्सु र ग्रिजम्यान दुवै फिट भएपछि भने सेटिनलाई टोलीमा फरवार्ड लाइनको छनौट टाउको दुखाइ हुने देखिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।