काठमाडौं । आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महŒवपूर्ण दिन हो । उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको थियोे ।’

गाईजात्रा क्यासेट बेचेरै आचार्यले दुइटा घर बनाए, जुन कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । आफूले गाईजात्रे क्यासेटको बिक्रीबाटै काठमाडौंको घट्टेकुलोमा दुइटा घर बनाएको स्मरण गर्दै आचार्यले सुनाए, ‘२०३८ सालमा मदन दाइ र मैले गाईजात्राको अवसर पारेर एक घण्टाको क्यासेट ‘यमलोकको यात्रा’ बजारमा ल्यायौं । जसमा एकापट्टि आधा घण्टाको ‘यमलोकको यात्रा’ र अर्कोपट्टि आधा घण्टाको प्यारालाइसिस प्रहसन राखेका थियौं ।’

उनले भने, ‘त्यो क्यासेट त्यतिबेला डेढ लाखभन्दा बढी बिक्री भयो । एउटा क्यासेटबाट ९ रुपैयाँको रोयल्टीको हिसाबले हामीले १३ लाखभन्दा बढी पैसा त्यसै वर्ष पायौं ।’ यसरी क्यासेट निकालेको केही महिनामै लगातार पैसा आएपछि आचार्यले सोही वर्ष घट्टेकुलोमा घडेरी किनेर घर बनाएका रहेछन् । त्यस वर्ष उनको भागमा करिब ७ लाख रुपैयाँ परेको थियो । त्यसपछि उनले मदनकृष्णसँग मिलेर ‘अंशबन्डा’, ‘रद्दीको टोकरी’, ‘होस्टे हैंसे’, ‘कक फाइट’लगायत थुप्रै गाईजात्रे एल्बम निकालेको स्मरणे गरे । क्यासेट बिक्रीको पैसाले फेरि अर्को घर थपेका उनले २०४८ पछि भने गाईजात्रे क्यासेट निकाल्न छाडे ।

‘हामीले बजारमा ल्याएको क्यासेटलाई रातारात कपी गरेर नक्कली बनाई बिक्री गर्ने गिरोह फस्टायो । अनि हामीले क्यासेट निकाल्न छाड्यौं र टेली फिल्म बनाउन थाल्यौं,’ उनले भने, ‘त्यतिबेला हाम्रै गाईजात्रे क्यासेटको डुप्लिकेट बनाएर बेच्ने व्यक्तिले काठमाडौंमा दुईतले घर बनाएको कुरा उसकै मुखबाट सुन्न पायौं ।’

यसरी आफ्नो पसिनामा अरू मोटाएपछि गाईजात्रा क्यासेटले विश्राम पाएको आचार्यको भनाइ छ । ‘क्यासेट बन्द गरेपछि हामीले निकालेका ‘१५ गते’, ‘रात’, ‘वनपाले’ जस्ता थुप्रै टेलीशृंखलाको अडियोलाई गाईजात्रे क्यासेटका रूपमा बनाएर बेचेको पनि पायौं । त्यसपछि सिडी आयो, अनि बिस्तारै क्यासेटको बजार पनि सकियो,’ उनले भने ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यसपटक कोरोना संक्रमण (कोभिड–१९)का कारण गाईजात्राको अवसरमा देशव्यापी महयात्रा गर्न पाएनन् । सोही कारण यतिबेला गाईजात्रामा आफूलाई केही छुटिरहेको महसुस भएको आचार्यको भनाइ छ त्यसैले केही टेलिभिजनका कार्यक्रममा अतिथि कलाकार भएर अहिले गाईजात्रामा प्रस्तुति दिँदै चित्त बुझाउनुपरेको उनले बताए ।

त्यसो त २०२८ सालतिरका दिनहरू आचार्यलाई अहिले पनि याद छ । त्यतिबेला विभिन्न कलाकारले समूह बनाएर काठमाडौंका असन, इन्द्रचोक, बसन्तपुरलगायत विभिन्न क्षेत्रमा गाईजात्रामा विशेष कार्यक्रम गर्थे । सुरुमा आचार्य हास्य भूमिका माग्न जाने गर्थे, ‘उहाँहरूको नेवारी प्रहसनबीच जब एक–दुइटा कार्यक्रममा मैले नेपालीमा प्रहसन प्रस्तुत गरें । त्यसपछि मलाई उहाँहरूले नियमित बोलाएर पारिश्रमिकसहित प्रहसन गर्न लगाउनुभयो ।’ २०२८ देखि २०३१ सालसम्मको गाईजात्रे यात्रा उनले यसरी स्मरण गरे ।

सोही क्रममा अभिनेता आचार्यको भेट मदनकृष्ण श्रेष्ठसँग भयो । यी दुईको जोडी मित्रता यस्तो जम्यो कि उनीहरू जोडीकै रूपमा नेपाली हास्यव्यंग्य वृत्तका प्रभावशाली जोडी र सामाजिक अभियान्ता बन्न पुगे ।

महजोडीका रूपमा आफूहरूलाई जोड्नुमा गाईजात्राकै मुख्य देन रहेको अभिनेता आचार्यको भनाइ छ । उनले भने, ‘२०३२ सालतिरबाट नेपाल प्रज्ञा प्रतिष्ठानले सप्ताहव्यापी गाईजात्रा उत्सव सुरु ग¥यो । प्रतिष्ठानका परिषद् सदस्य सत्यमोहन जोशीको संयोजकत्वमा सुरु भएको गाईजात्रा महोत्सव २०३३ सालतिर मैले पनि प्रहसन लेखेर पठाएँ । मेरो प्रहसन छानिएपछि राजपरिवार र भद्रभलादमीका अगाडि प्रहसन प्रस्तुत गर्दा धेरै नै ताली पाएँ ।’ त्यो दिन जीवनकै सबैभन्दा खुसी भएको उनले बताए । यसरी प्रज्ञा प्रतिष्ठानको गाईजात्रा कार्यक्रममा यी अभिनेताले चार पटकसम्म उत्कृष्ट प्रस्तुतिको अवार्डसमेत जितेका छन् । २०४६ सालबाट राजनीतिक दबाबका कारण प्रतिष्ठानले गाईजात्रा कार्यक्रम रोक्यो । त्यसपछि निजी क्षेत्रले गाईजात्रा महोत्सवलाई अघि बढाएको उनको भनाइ छ । आफूहरूले गाईजात्रा र महजात्राका रूपमा यो कार्यक्रमलाई देश–विदेशमा पु¥याएको गाईजात्रालाई हास्य महोत्सवमा थप चिनाएको पनि उनले बताए ।

डब्बु क्षेत्रीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।