रोम । सिरी ‘ए’ क्लब लाजियोका इटालियन फरवार्ड सिरो इम्मोवाइलले युरोपियन र सिरी ‘ए’को गोल्डेन बुट जितेका छन् । इम्मोवाइलले युरोपमा पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई तथा सिरी ‘ए’मा पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन युरोप र लिगमा गोल्डेन बुट जितेका हुन् ।

लेवान्डोस्कीले यो सिजन घरेलु लिगमा ३५ गोल गरेका थिए । रोनाल्डोले ३१ गोल गरेका थिए । ३० वर्षीय सिरोले आफ्नो खेल करियरमा पहिलोपटक गोल्डेबुट जितेका हुन् । सिरोले यो सिजन सिरी ‘ए’को ३७ खेलमा ३६ गोल गरे । गत वर्ष लियोनेल मेस्सीले पनि ३६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस्तै, सिरोले सिरी ‘ए’बाट ३६ गोल गर्ने गोन्जलो हिगुआइनसँगको कीर्तिमानलाई बराबरी गरेको छ ।

हिगुआइनले २०१५–१६ को सिजनमा ३६ गोल गरेका थिए । यस्तै, सिरो २००७ पछि इटालीबाट गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । २००७ को सिजनमा रोमा फ्रान्सिस्को टोट्टीले गोल्डेन बुट जितेका थिए । उनले २६ गोल गरेका थिए । युरोपियन गोल्डेन बुट युरोपियन स्पोर्ट्स मिडिया (ईएसएम)ले घरेलु लिगमा गरेको गोलको आधारमा प्रदान गर्दै आएको छ । युरोपको शीर्ष पाँच लिग (प्रिमियर लिग, ला लिगा, बुन्डेस लिगा, लिग वान र सिरी ‘ए’) प्रत्येक गोलको दुई अंक गणना गरिन्छ । अन्य लिगमा स्तरअनुसार १.५ र १ अंक गणना गरिन्छ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।