सरकारले कोरोना संक्रमण निदानका लागि प्रयोग गर्दै आएको र्‍यापिड डाइअग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण विधि देशभर बन्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश सरकार, स्थानीय सरकार र देशभरका अस्पताललाई सूचना जारी गरिसकेको जानकारी दिए।

सरकारको साउन १४ गतेको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले अबदेखि कुनै पनि स्वास्थ्यसम्बन्धी निकायबाट आरडीटी परीक्षण नहुने बताए। आरडीटी विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट  सही नहुने भन्दै चर्को विरोध हुँदै आएको थियो।

यस्तै मन्त्रालयले १२ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।पछिल्लो समय कोरोना संक्रण दर बढ्दै गएको भन्दै सरकारले त्यसबाट बच्न बालबालिका र जेष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो। उक्त समूहका नागरिकलाई कोरोना जोखिम बढी हुने भन्दै काठमाडौं र काठमाडौंजस्तै घनाबस्ती भएका ठाउँमा घरबाट बाहिर ननिस्कन अनुरोध गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।