file photo

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको बताएका छन् ।

कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको पनि बताए ।

‘पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने ? पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो,’ उनले भने ।

आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै उनले अहिले नेकपाले स्थायित्व दिनुपर्ने बेला आएको बताए । पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालको भनाइ थियो ।

उनले पार्टी एकताको रक्षा गर्नका लागि नेताहरू बहसमा रहेको पनि बताए । पार्टी एकतालाई यो बहसले अझ माथिल्लो स्तरमा लगेर सुदृढ गर्ने बताउँदै उनले भने, ‘पार्टीलाई टुटाउने, फुटाउने सबै खालका प्रवृति परास्त हुनुपर्छ, परास्त गरिनुपर्छ । यो सबै एकताबाट हुने हो ।’

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी कार्यक्रममा दाहालले पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको पनि उल्लेख गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।