मोरङ ।  श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल आफ्नै कार्यालयका कर्मचारीबाट कुटिएका छन्।

सञ्जेललाई शनिबार कार्यकक्षमै महिला कर्मचारीले हातपात गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले उपसचिव सञ्जेलमाथि कार्यकक्षमै करारमा कार्यरत दुई महिला कर्मचारीले कुटपिट गरेको जानकारी दिए ।

कार्यालय सहयोगी मेनुका सापकोटा र नेत्र भट्टराईले कार्यकक्षमै पसेर कुटपिट गरेको र यसबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । कार्यालयको टेबलमा रहेका पञ्चिग मेशिन, पेपर वेट, फाइल बोर्ड लगायतले सञ्जेलमाथि प्रहार गरिएको प्रहरीको भनाइ छ ।

कुटपिटमा संलग्न दुबै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गालीगलौज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले पनि कुटपिट गरेको प्रहरीलाई बताएका छन् । कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्याल्नुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।