मानवी बानियाँ, हेटौंडा,३० असार – विद्यालय गएका किशोरीको स्वास्थ्थ र शिक्षामा सकारात्मक प्रभाव पार्ने उद्धेश्यलेसरकारले स्थानीय तहमा सेनेटरी प्याड बितरण गर्न थालेको छ ।

तर, बागमती प्रदेशका स्थानीय तहले रकम फ्रिज हुने भन्दै विद्यालय खुल्ने टुंगोसमेत नहँुदै असार अन्तिममा छात्रालाई सेनेटरी प्याड खरिद गरेका छन् । कमिसनका लागि हतारोमा खरिद गरिएका सेनेटरी प्याड यतिखेर स्थानीय तहका गोदाममा थन्किएका छन् । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरु बन्द छन् । तर, विद्यालयमा अध्ययनरत् छात्राका लागि भन्दै मकवानपुरका विभिन्न स्थानीय तहले प्रतिगोटा ४५ देखि ७५ रुपियाँ मूल्यका सेनेटरी प्याड खरिद गरेका छन् ।

असार मसान्तमा बजेट फ्रिज हुन्छ भन्दै राक्सिराङ गाउँपालिका, बकैया गाउँपालिका, थाहा नगर तथा जिल्लाका अन्य स्थानीय तहले खरिद गरेका प्याड स्थानीय तहको गोदाममा राखिएका छन् । छात्राको संख्याका आधारमा विद्यालयकै खातामा रकम जम्मा गरेर खरिद गरेर उपलब्ध गराउ“दा उचित हुने प्याड कमिसनको चक्करमा स्थानीय तहले नै खरिद गरेर विद्यालयलाई बितरण गर्ने गरेका छन् । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा भन्छन्–विद्यालयकै खातामा पैसा दिएर हामी आफैंले व्यबस्थापन गर्नसके राम्रो हुन्छ । तर, स्थानीय तहले नै खरिद गरेर दिने गरेको प्रअ बैठाले जानकारी गराए ।

राक्सिराङ गाउँपालिका स्वास्थ्य संयोजक विजय कापरीका अनुसार ९ लाख ११ हजार बजेटमा १३ हजार चार सय ९२ थान सेनेटरी प्याड खरिद गरिएको हो । विद्यालय खुल्नेबित्तिकै प्याड विद्यालयलाई हस्तान्तरण गरिने उनले बताए । छात्रालाई आबश्यकताअनुसार उपलब्ध गराइने काप्रीले बताएका छन् । बकैया गाउ“पालिकाले दुई लाख ५० हजार बराबरको सेनेटरी प्याड असारमा खरिद गरेको स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले जानकारी गराए ।

उनका अनुसार लकडाउन पूर्णरुपमा खुलेपछि मात्र प्याड विद्यालयलाई हस्तान्तरण गरिने उनले बताएका छन् । थाहा नगरपालिकाले असार पहिलो हप्ता १९ लाख रुपियाँ बराबर ४१ हजार थान सेनेटरी प्याड खरिद गरेको नगरपालिकाका स्टोर शाखाका कर्मचारी सुदर्शन पहेलीले बताए । मकवानपुरका अधिकांश स्थानीय तहले दुई लाखदेखि २५ लाखसम्मका सेनेटरी प्याड खरिद गरेर गोदाममा राखेका छन् । कोरोना भाइरसको महामारीका कारण विद्यालय खुल्ने निश्चित नहुँदा लामो समय स्टकमा राखिएका सेनेटरी प्याडले किशोरीको स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने चिकित्सकको भनाइ छ । हेटौंडा अस्पतालका बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.रामकाजी महर्जनका अनुसार महिलाको संवेदनशील अंगमा लगाइने सेनेटरी प्याड प्रयोगयोग्य मिति नाघेर प्रयोग गर्न नहुने र यदि त्यसो गरे स्वास्थ्यमा समस्या हुनेछ । डा. महर्जनका अनुसार खरिद गरेर लामो समयसम्म राख्दा सेनेटरी प्याडको प्रयोग मिति सकिने हुनसक्छ । तर, कुनै प्याडमा मिति नै तोकिएको हुँदैन । मिति नाघिसकेका प्याड प्रयोग गर्दा त्यसले पाठेघरमा असर गर्ने, चिलाउने र एलर्जी हुनसक्ने डा. महर्जनले बताए ।

कोरोना भाइरसको महामारीका कारण विद्यालय पूर्णबन्द भएर पठनपाठन नभएको अबस्थामा उक्त बजेट कोरोना महामारी रोकथाममा खर्च गर्नुपर्ने स्थानीयको भनाइ छ । तर, त्यसो नगरी सेनेटरी प्याड खरिद गरेर गोदाममा राखिएकाले ओसिने डरले प्रयोगमा नआउने हो कि भन्ने प्रश्न उठ्नसक्छ । बागमती प्रदेशका १३ जिल्लामा १० करोड खर्च गरेर सेनेटरी प्याड खरिद गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।