हेटौँडा ।  नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी नेतृ तथा “पार्टीकी आमा” को नामले परिचित मकवानपुरे कम्युनिष्ट नेता बालकुमारी थापाको निधन भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ की उनको गएराती निधन भएको हो ।
विस २०२० सालबाट नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएकी उनी अखिल नेपाल महिला संघ मकवानपुरकी सस्थापक अध्यक्ष समेत रहेकी थापाको ७४ वर्षको उमेरमा मुटुरोगको कारण निधन भएको हो ।

२००३ सालमा जन्मेकी उनी १७ वर्षको युवा उमेरबाटै नेपाल कम्युनिष्ट पार्टीको सदस्यको रुपमा सक्रिय रहेकि थिईन् । नेकपा माले स्थापना अघि अखिल नेपाल कोर्डनेशन उेन्द्रमा समेत रहेकि उनकै घरमा तत्कालिन नेकपा मालेको महिला संगठन अनेमासंघको राष्ट्रिय तयारी भेला भएको थियो ।

तत्कालिन पञ्चयात कालमा उनको घरलाई कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले केन्द्र, सेल्टरको रुपमा प्रयोग गर्ने गरेका थिए । मकवानपुरे कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा रहेकी महिला नेतृ भएको कारण उनलाई तत्कालिन नेकपा एमालेले “पार्टीकी आमा”को रुपमा संवोधन गर्ने गरेको थियो ।

नेकपा एमाले निर्माण भएपछि करिब २ दशकसम्म उनी पार्टीको जिल्ला कार्यसमितिमा सक्रिय रहेकी थिईन् । उनी २०५४ सालमा जिल्ला विकास समित मकवानपुरको सदस्य समेत भएकी थिईन् । थापाको श्रीमान र ३ छोरा रहेका छन् । बालकुमारी थापाको निधनले मकवानपुरको कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाले बताए । नेकपाले एकजना अभिभावक गुमाएको उनको भनाई रहको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।