चितवनको माडी नगरपालिकाले अयोध्याको इतिहास खोज्न थाल्यो, पण्डितको भेला गरियो

हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्री राम नेपालकै र अयोध्या पनि नेपालमै भएको बताएपछि धार्मिक र सांस्कृतिक क्षेत्रमा नयाँ तरंग आएको छ । यसै विषयलाई थप पुष्टि गर्न आज चितवनको माडी नगरपालिकाले तथ्यहरुको खोजी गर्ने अभियान थालेको छ ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले राम र अयोध्यासँग जोडिएका ऐतिहासिक गुफा र मन्दिरहरु माडी नगरपालिकामा रहेकोले पनि आफूले तथ्यहरुको खोजीमा अग्रसरता लिएको बताए । चितवनको नारायणी अनलाइनसँग कुरा गर्दै उनले, देशभरका मिडियाहरुले तथ्यहरुको बारेमा सोधेकोले पनि आफू यसको खोजीमा लागेको बताएका छन् । यस विषयमा इतिहासकार, पण्डित तथा अनुसन्धानकर्ताको वृहत् भेला राख्ने सोच बनाएको उनको भनाई रहेको छ ।

मेयर ढकालकै अग्रसरतामा आज माडी नगरपालिकामा पण्डितहरुको भेला पनि राखिएको थियो । मेयर ढकालले भने, ‘ आज ५ जना पण्डितहरु आउनुभयो । सबैले आफ्ना तथ्यहरु प्रस्तुत गरे । राम यसै क्षेत्र वरिपरी जन्मिएको भन्ने यथेष्ट प्रमाणहरु भेटिएका छन् ।’

साबिकको अयोध्यापुरी गाउँ विकास समिति अहिलेको माडी नगरपालिकाको ८ र ९ नम्बर वाडमा पर्छ । क्षेत्र मार्फत् नभएर रामायणसँग जोडिएका धेरै तथ्यहरु रहेको नगर प्रमुख ढकालले बताए । उनले भने, ‘वाल्मीकि आश्रम, सीताराम गुफा, लवकुशको सन्दर्भ जोडिएका सबै स्थलहरु माडी क्षेत्रमा नै पर्छन् । यसअघि नै माडी नगरपालिकाले वार्षिक कार्यक्रममा धार्मिक पर्यटकीय क्षेत्रको विकासलाई राखेको छ ।
यो सामग्री चितवनको नारायणी अनलाईनबाट साभार गरिएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।