क्लिन फिड नीति साउन १ देखिनै लागू गर्न माग

विदेशी च्यानल विज्ञापनरहित प्रसारण गर्ने (क्लिन फिड) नीति १ साउन २०७७ देखि लागू गर्न सम्बन्धित सरोकारवाला निकायले माग गरेका छन् । सरकारले क्लिन फिड नीति जारी गरेर ८ कात्तिक २०७७ देखि लागू गर्ने भनेपनि अहिले नेपालमा भारतीय च्यानल बन्द गरिएको मौका पारेर यो नीति लागू गर्न आग्रह गरिएको छ । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले २८ असार (आइतबार) सरकारलाई बुझाएको संयुक्त ज्ञापनपत्र अनुसार यस्तो माग गरेको हो।

क्लिन फिड नीतिलाई आर्थिक वर्ष २०७७/७८ देखि लागू गर्न सम्बन्धित सरोकारवाला निकायले सरकारसँग माग गरेका हुन्। उनीहरुले नयाँ आर्थिक वर्ष शुरु भएदेखि (१ साउन)बाटै क्लिन फिड लागू गर्नु व्यावहारिक र तर्कसंगत हुने उल्लेख गरेका छन्।

क्लिन फिड लागू गर्ने विषयमा एक दशकदेखि प्रशस्त मात्रामा सरोकारवालाहरु देखि विज्ञहरुसम्मकाे निरन्तर बहस, पैरवी भएको र नेपालका मिडियासँग सम्बन्धित सबै संघसंस्थाहरुको साझा आवाज पनि भएको उल्लेख छ।

विदेशी च्यानललाई विज्ञापन रहित गर्दा नेपाली विज्ञापनको बजार बढ्ने र वर्षेनि विज्ञापनका नाममा बाहिरिने अर्बौंको रकम नेपालमै रहने पनि दाबी नेपाल विज्ञापन संघको छ।

नेपाली मिडियाहरुले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको र नेपाल सरकारले समेत ७ साउन २०७३ मै नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । उक्त नीति अहिलेसम्म लागू हुन सकेको छैन।

सरकारले विज्ञापन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने स्पष्ट कानूनी व्यवस्था गरेकोमा नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल र नेपाल सामुदायिक रेडियो प्रसार संघले सो व्यवस्थालाई स्वागत गरेको पनि उल्लेख छ।

विदेशी च्यानलमा क्लिन फिड नीति लागू गरेपछि नेपालको सीमा भित्र प्रसारण, वितरण हुने विदेशी टीभी च्यानल पूर्णरुपमा विज्ञापन रहित हुने उल्लेख छ । विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम (केवल, डीटीएच, इन्टरनेट, समाजिक सञ्जाल, यूट्युबलगायत डिजिटल प्लेटफर्म) सबैमा विज्ञापन रहित सेवा हुने पनि उल्लेख छ।

नेपालले लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गरेपछि केही भारतीय मिडियाले नेपालबारे अनर्गल प्रचार गर्दै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूर होउ यान्छीलाई जोडेर कपोलकल्पित, दुराशयपूर्ण एवं भ्रामक समाचार भारतीय मिडियाले प्रकाशित र प्रसारित गर्न थालेपछि २५ असारदेखि नेपालमा भारतीय च्यानल बन्द रहेका छन्।

from : himalkhabar


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।