हेटौँडा । निरन्तर वर्षा सँगै आएको बाढी पहिरोको कारण नेपालमा जनधनको क्षति हुने क्रम रोकिएको छैन । यसैक्रममा चितवनको माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा शव भेटिएको हो ।

यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो । सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ ।

यता वर्षाका कारण भरतपुर महानगरपालिका–११ भोजाडमा रुखले घर थिचेको छ । जसका कारण घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । भोजाडमा रहेको एउटा घरमा क्षति भएको हो । त्यसैगरी यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।