मानबी बानीयाँ ।  हेटौँडा । मकवानपुरमा चालु आर्थिक वर्षको हालसम्म १६ जनाको हत्याको घटना भएको छ । १६ वटा हत्याको घटनामध्ये आठ वटा घटनामा परिवारकै सदस्यहरु संलग्न रहेको पाईएको छ । सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये ५० प्रतिशत को परिवारनै हत्यामा संलग्न रहेको पाईएको छ ।
घरमा हुने सामान्य कलहनै हत्याको कारण बन्ने गरेको पाईएको छ । सामान्य मनमुटाव, आर्थिक गतिविभि तथा कुलतको कारण हत्याको घटना बढेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

समाजका मूल्य मान्यता फेरिँदै गएको र बिचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाले बताए । सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छ उनले भने, यस्ता घटना रोक्न प्रहरीले विभिन्न जनचेतनामा मुलक कार्यक्रमलाई निरन्तरता दिई रहेको उनले जानकारी गराए । प्रहरीको तथ्यांकलाई हेर्ने हो भने यो आर्थिक वर्षमा आमाले छोरीलाई विख खुवाएर हत्या गरेको र दाजुभाईको झगडाले मृत्युको मुखसम्म पु¥याएको देखाएको छ । गत असार १ गते हेटौँडामा आफ्नै ससुरा तथा नन्द सहित सम्पूर्ण परिवारनै मिलेर बुहारीको हत्या भएको समेत घटना बाहिर आएको थियो । उक्त घटनाले नेपालभरनै निकै चर्चा समेत पायो । हत्याराहरु परिवारकै सदस्यहरु देखिन थालेपछि आम नागरिकहरु परिवारबाटै असुरक्षित महशुस गर्न वाध्य बनेका छन् ।

घटना न १— विष खुवाई छोरीको हत्या
गढी गाँउपालिकाकी सृजना सापकोटा गत वर्षको कार्तिक १७ गते आफ्नै तीन वर्षिय छोरीलाई दुधमा विष हालि खुवाई मारेकी थिईन । घरबाट भाई टिकाको लागि माईती घर जान्छु भनि छोरीसृष्टि सापकोटालाई साथमा लिएर उ.म.न.पा.वडा नं.६ रामनगरमा आएकी थिईन् । सापकोटाले छोरीलाई दुधमा बिष हाली खुवाउँदा छोरी छट्पटाई माईती घरमा रहका व्यक्तिले देखि उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेजमा ल्याई उपचार गर्ने क्रममा बालिकाको मृत्यु भएको भन्दै मृतकका वावु मोहन कृष्ण सापकोटाको जाहेरी दरखास्त दिएका थिए ।

घट्ना न २ — आमाद्धारा नवजात शिशुको हत्या
गत वर्ष कार्तिक २२ गते हेटौडा उप महानगरपालिका वडा नं.१६ हटिया खमारे स्थित सडकमा नामथर वतन नखुलेको पुरुष जातको नव जात शिशुको दुर्गन्धित अवस्थामा मृत लाश फेला परेको थियो । घटनाको सम्बन्धमा उक्त शिशुलाई जन्माई फाल्ने व्यक्तिको पहिचान गने क्रममा हेटौडा वडा नं.१६ हटिया खमारे बस्ने २३ वर्षिय सुस्मिता प्रजाले उक्त बच्चा जिउँदो जन्माई फालेकी थिईन् ।

घट्ना न ३— खुकुरी प्रहार गरि पत्निको हत्या
गत वर्ष माघ ५ गते आईतबार हेटौंडा उपमहानगरपालिका वडा न. १८ भालुखोला जरायोटार स्थित यज्ञराज अधिकारीले आफनो श्रीमती वर्ष २१ को मिना पाण्डे अधिकारीलाई खुकुरी प्रहार गरी मारी घर नजिक रहेको पानी जमेको खाल्डोमा रहेको जमेको पानीमा फाली दिएका थिए । घरयासी झगडाकै कारण अधिकारीले आफ्नी श्रीमतिको हत्या गरेको प्रहरीले खुलाएको छ ।

घट्ना न ४ —ज्वाईद्धारा खुकुरी प्रहारगरि सासुको हत्या
जेष्ठ २८ गते लकडाउनमा ससुराली आएर करिब २ महिना ससुराली बसेका ज्वाईले सासुको हत्या गरेका थिए । मकवानपुको मकवानपुरगढी गाउँपालिका वडा नंबर १ मा आफ्नै ज्वाईले बृद्ध सासुको हत्या गरेका थिए । मकवानपुर गढी १ मा रानिसेरामा आफ्नै ज्वाइ ३९ वषर्कका पदमबहादुर नेपालीले सासु ७२ वर्षकी कान्छीमाया भोम्जनलाई हत्या गरेका थिए । प्रहरीका अनुसार ज्वाँईले आफ्नी श्रीमतिसँग भएको झगडाको रिस सासुमाथि पोखेको प्राराम्भिक अनुसन्धानबाट पत्ता लागेको बताए ।

घट्ना न ५— आफ्नै भाईलाई काठको दाउरोले हानि हत्या
गत वर्ष भाद्र ५ गते थाहा नगरपालिका वडा नं ५ ठुलो फाकेल स्थित अर्जुन बलामीले आफ्नै भाई बर्ष २९ को उमेश बलामीलाई धकेलि भ¥याङबाट लडाई पुन काठको दाउरोले पेट समेतमा घोची सख्त घाईते बनाएका थिए । उपचारको लागी काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा लगिएकोमा उपचारको क्रममा मिति ६ गते उनको मृत्यु भएको थियो । मृतकको श्रीमती ज्यानु बलामीले कानुन बमोजिम गरी पाउँ भन्ने जाहेरी मुद्धा होलेकी थिईन् । घरमा रिसराग भएकै कारणले गर्दा दाजुभाईको बेला—बेलामा झगडा परिरहने कुरा प्रहरीले अनुशन्धानमा खुलाएको छ ।

घट्ना न ६— पत्निलाई कुटपिट गरि झुण्डाईएको
२१ वर्षिय सुस्मिला अर्याललाई आफ्नै पति दिपक दाहालले गत वर्ष श्रावण २२ गते झुण्डाएर हत्या गरेको भन्ने उल्लेख गरिएको छ । दिपक दहालले त्यस अघिपनि २०७४ बैशाख १३ गतेका दिन देखि बारम्बार सुस्मितालाई कुटपिट गरी शारिरीक एवं मानसिक यातना दिदै आएका थिए । सुस्मिला अर्याल दहाललाई कर्तव्य गरी झुण्ड्याई मारेको अवस्थामा प्रहरीले जनाएको छ । सामान्य घर झगडाकै कारण विवाद निस्केको प्रहरीको अनुशन्धानमा खुलेको छ ।

घट्ना न ७— पत्निलाई कुटपिट गरि झुण्डाईएको
गत वर्ष भाद्र ७ गते धनबहादुर जिम्माले ३७ वर्षिय देउतीमाया मुक्तान जिम्बालाई घर भित्र भुईमा सुताई राखेको र दायाँ आँखा, कन्चट, टाउको र पछाडी ढाडमा समेत चोट पटक, निलडाम भई मृत अवस्थामा भुण्डाईएको थियो । घटनास्थल वरपरका मानिसहरुसंग प्रहरीले बुझ्दा भाद्र ६ गत साँझ धनबहादुर सहित अन्य दुईजनाले कुटपिट गरेको थिए । कुटपिट कर्तव्य गरी मारेको हुँदा निजहरुलाई पक्राउ गरी कानुन बमोजिम गरी पाउँ भन्ने उनका वुवा ईन्द्र बहादुर मुक्तानको जाहेरी दरखास्त दिएका थिए ।

घटना : ८ आफ्नै ससुरा,सासु र नन्द मिलेर बुहारीको हत्या
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ सुर्यचोक (कर्रा) मा गत असार १ गते एकजना महिलाको आफ्नै घरमा मृत शरिर भेटियो । सुस्मीता क्षेत्रीको उक्त शबको प्रकृति हेर्दा हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गर्दा उनको हत्या भएको र हत्यामा परिवारकै सदस्यहरु अर्थात ससुरा प्रकाश थापा, नन्द सिता थापा, सासुआमा तथा जेठि नन्द दुर्गा थापाको संलग्न रहेको भन्दै प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक समेत गरेको छ ।

सामुदायिक एकता कमजोर भयो : तिमल्सीना
सामुदायीक एकता कमजोर, प्रविधिको गलत प्रयोग र अर्थिक पाटोको कारण परिवारमा कलहको अवस्था सृजना भएको कारण पछिल्लो समयमा परिवारभित्रै हत्याको श्रृंखला बढेको मकवानपुर बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक भिमप्रसाद तिमल्सीना बताउँछन् ।
प्छिल्लो समय बैदेशकी रोजगारमा जानेको संख्या बढनुले श्रीमान श्रीमतिबिचको सामिप्यतामा कमि आउने र विभिन्न सामजिक सञ्जालको माध्यमबाट अन्य ब्यक्तिहरुसँगको सम्वन्ध प्रगाढ बन्ने, पछि त्यो सम्वन्धको खुलासाकै कारण हत्या जस्तो जघन्य अपराधमा पनि मानिसहरु संलग्न भएको घटना धेरै आउने गरेको उनको भनाई छ । परिवारबाटै हत्या हुनुको अर्को महत्वपूर्ण पाटो भनेको आर्थिक पाटो समेत भएको उनको भनाई रहेको छ । प्रायगरि हत्या गर्ने ब्यक्तिहरु कस्तो वातावरणमा हुर्केको छ,या कस्तो समाजमा उ घुलमिल भयो भन्ने पनि महत्वपूर्ण विषय भएको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।