नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले आपत्तिजनक कार्यक्रम प्रसारण गरेपछि अपरेटरहरुले स्वस्फुर्त रुपमा यस्तो निर्णय लिएको बताइएको छ । केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय भने गरेको छैन भने सरकारले पनि कुनै औपचारिक निर्णय अहिलेसम्म गरेको छैन । कम्पनीहरुले प्राविधिक कारण देखाउँदै यस्तो कदम चालेका हुन् ।

यसैबिच सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपाली र नेपालको राष्ट्रियताका विषयमा भ्रम फैलाउने भारतीय मिडियाबारे राजनीतिक र कानूनी उपचार खोज्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले राष्ट्र, राष्ट्रियता सार्वभौमिकता र नेपालीको स्वाभिमानमा आँच पुर्‍याउने खालका समाचार सम्प्रेषण गर्ने भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने बताएका हुन्।

‘हाम्रो राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पुर्‍याउने समाचारहरू सम्प्रेषण नगर्न हामी अनुरोध पनि गर्दछौं। यसमा छिमेकी मुलुकका मिडिया पनि पर्छन्। हामीले राजनीतिक र कानूनी दुई वटै उपचार खोज्नु पर्ने हुन्छ,’ खतिवडाले भने।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।