एजेन्सी । ब्राजिलियन विंगर विलियनले लगातार उच्च प्रदर्शन गरेपछि लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । चेल्सीले घरेलु टोलीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हात पारेको हो । अर्काे खेलमा तेस्रो स्थानमा रहेको लेस्टर र आर्सनलले १–१ गोलको बराबरी खेलेपछि चेल्सी तेस्रो स्थानमा उक्लन सफल भएको हो ।

चेल्सीको जितमा ओलिभर जिरुउड, क्रिस्टियन पुलिसिस र टम्मी अब्राहमले गोल गरे । विलियनले गोल नगरेपनि शुरुवाती दुई गोलको लागि असिस्ट दिएका थिए । क्रिस्टल प्यालेसका वेलफ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले गोल गरे ।

सेलह्रस्टपार्क लन्डनमा मंगलबार राति भएको खेलको छैटौ मिनेटमा नै विलियनको पासमा ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाए । २७औं मिनेटमा क्रिस्टियन पुलिसिसले विलियनकै पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

३४औं मिनेटमा वेलफ्रेड जाहाले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अवस्थामा ल्याए । ७१औं मिनेटमा टम्मी अब्राहमले रुवेन लफटस चिकको पासमा गोल गर्दै चेल्सीलाई खेलमा ३–१ को अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै क्रिस्टियन बेन्टेकेले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–२ ले विजयी हुन सफल भयो । जितसँगै चेल्सीको ३४ खेलबाट ६० अंक पुगेको छ । चौथो स्थानमा झरेको लेस्टरको ५९ अंक छ । समान खेलबाटै क्रिस्टल प्यालेस ४२ अंक जोडेर १४औं स्थानमा यथावत छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।