एजेन्सी, २४ असार । शीर्ष स्थानको रियल मड्रिडभन्दा ४ अंकले पछि परे पनि बार्सिलोनाले यो सिजनको ला लिगा जित्न सक्ने बार्सिलोनाका प्रशिक्षक क्वीक सेटिनले बताएका छन् । ३५औं चरणको खेलअन्तर्गत आज राति बार्सिलोनाले घरेलु मैदानमा लिगको पुछारमा रहेको एस्पानियोलसँग खेल्दैछ ।

लिगमा चार चरणका खेल मात्र बाँकी रहँदा अंक र हेड–टु–हेड दुवैमा पछि परे पनि बार्सिलोनाले लिग जित्न सक्ने कुरामा आफू आशावादी रहेको प्रशिक्षक सेटिनले बताए । प्रि–म्याच कन्फरेन्समा बोल्दै सेटिनले यस्तो बताएका हुन् । ‘हामी अझै पनि लिग जित्न सक्ने स्थितिमा छौं । यो मैले हचुवामा भनेको होइन, अंक गणितको आधारमा भनेको हुँ ।’ यो सोचे र भनेजस्तै सजिलो नभए पनि अन्तिम खेलसम्मै आशा गर्न छाड्न नहुने सेटिन बताउँछन् । हामीले हाम्रो बारेमा मात्रै सोचेर खेल्ने हो र बाँकी सबै खेल जित्ने हो’ सेटिन भन्छन्, ‘हामी अब जे गर्छाैं त्यसले सुचारु हुन लागेको च्याम्पियन्स लिग हाम्रो हुन मद्दत गरोस् ।’

एथ्लेटिको मड्रिड र सेल्टा भिगोसँग बराबर खेल्दै अंक तालिकामा रियलसँग पछि परेपछि सेटिनलाई बार्सिलोनाले बर्खास्त गर्ने तयारीबारे चर्चा सुरु भएका थिए । तर पछिल्लो खेलमा भिल्लारियलाविरुद्ध ४–१ गोलान्तरको शानदार जित दर्ता गराए पछि भने सेटिन बर्खास्तीको कुरा सेलाएको छ ।

आफू फुटबल र यसमा हुने सर्कसबारे जानकार भएको बताउँदै सेटिन भन्छन्, ‘मलाई यी सब कुरा थाहा छ, म केवल मेरो काम गरिरहेको छु । क्लबको मेरो रेकर्डले म खुशी छु ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।