वासिङ्टन डिसी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लूएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक– पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए । उनले विश्वभरी कोरोना भाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लूएचओको आलोचना गरेका थिए ।

राष्ट्रपति ट्रम्पले डब्लूएचओलाई चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको आरोप पनि लगाएका थिए । उनको आरोप र असन्तुष्टिप्रति अन्य धेरै देशले असहमति जनाएका थिए भने डब्लूएचओबाट अलग हुने घोषणाप्रति चिन्ता व्यक्त गरेका थिए ।

डब्लूएचओबाट अमेरिका बाहिरिने र डब्लूएचओलाई दिंदै आएको सहयोग रोक्ने बारेमा अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले पुष्टि गरेका छन् । बाहिरिने सम्वन्धि पत्र अमेरिकी अधिकारीहरुले सोमवार नै लागू हुनेगरी राष्ट्रसंघका महासचिवलाई पठाएको पनि समाचारमा बताइएको छ । अमेरिकी सिनेटको विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले सामाजिक सञ्जाल ट्वीटर मार्फत् यस बारेमा जानकारी दिएका थिए ।एएनआई


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।