काठमाडौं । संघीय समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद पदबाट हटाउने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको बैठकले उनलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी र सांसद पदबाट हटाउने निर्णय गरेको हो । यसअघि मंगलबार पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले पार्टीको निर्देशन र ह्वीप उल्लंघन गरेको आरोपमा  गिरीलाई सांसद पद र पार्टीबाट हटाउन सिफारिस गरेको थियो ।

पार्टी संसदीय दलको निर्देशन र ह्वीप विपरीत नेपालको संविधान दोस्रो संशोधन विधेययक २०७७मा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको भन्दै कार्यदलले उनलाई सांसद पदबाट हटाउन सिफारिस गरेको थियो ।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि सरकारले ल्याएको संविधान संशोधन दोस्रो विधेयकको उनले विरोध गरेकी थिइन् । नेपालले आफ्नो राजनीतिक प्रशासनिक नक्सा अद्यावधिक गरेर जारी गर्दा भारतलाई नसोधको भन्दै संसदमा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत उनले संसद्मा उपस्थित भएर संशोधन प्रस्तावको विरोध गर्दै संसद बैठक नै बहिष्कार गरेर निस्किएकी थिइन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।