मानबी बानीयाँ, हेटौंडा,आर्थिक प्रलोभनमा परेर असार १ गते हेटौंडा—४, कर्राका प्रकाश थापा र उनका परिवारले बुहारी सुष्मिता केसीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । मृतक केसीका पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते कपिलवस्तुबाट हेटौंडा आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो ।
निधनपश्चात् उनले पाउने बीमाबापत् करिब ४० लाख, काम गर्ने सीएसआई इन्टरनेसनलबाट आउने तलबभत्ता तथा बोनस ससुरा प्रकाशले आफूले पाउनुपर्ने दाबी गर्दै आएका थिए ।

असार १८ गते हेटौंडा—७, नागस्वतीमा जुवा खेलिरहेका पाँच जुवाडे पक्राउ परे । प्रहरी निरीक्षक अमर गजमेरले उनीहरुबाट ७४ हजार नगद बरामद गरिएको बताए ।

मकवानपुरकी सन्ध्या कुँवरको फेसबुक ह्याक गरी विदेशी नाम परिवर्तन गरेर पैसा माग्ने कार्य ह्याकरले गर्न थाल्यो । उक्त घटना जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेरिरहेको छ । यस्ता कार्यमा सहभागी हुनु पनि आर्थिक अभावकै कारण रहेको प्रहरी निरीक्षक गमजेरले दाबी गरेका छन् ।

लकडाउन खुकुलो भएपछि विभिन्न आर्थिक प्रलोभनमा परेर गरिने आपराधिक घटना बढेका छन् । जबर्जस्ती करणी, चोरी, लागुऔषध ओसारपसार, दुव्र्यबहार बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

लकडाउनमा सकडमा खटिनु परे पनि दैनिक शान्तिसुरक्षा बहालीमा प्रहरीले खासै समस्या झेल्नु परेन । अत्याबश्यक अबस्थाबाहेक घरबाहिर निस्कन रोक लगाइएका कारण आपराधिक समूह देखिएनन्, जसले सुरक्षा बहालीमा प्रहरीलाई केही सहज भयो ।

प्रहरीले लकडाउन अवधिमा ठूला अपराध अनुसन्धान गर्नुपरेको थिएन । तर, लकडाउनका कारण घरमै बसेकाहरु पनि अपराधीको चंगुलमा फसे । जिल्ला प्रहरी कार्यालय स्थापनाको करिब ३५ वर्षपछि लकडाउनको बेला यसपालि उसको हिरासत रित्तिएको थियो । तर, लकडाउन खुकुलो भएपछि आर्थिक प्रलोभनमा विभिन्न आपराधिक घटना हुन थालेका छन् ।

लकडाउन खुकुलो भएपछि प्रहरी हिरासतमा हाल विभिन्न अपराध आरोपमा ३० जना थुनुवा छन् । सामाजिक सञ्जालमार्फत्का घटना भने भएका छन् । लकडाउन अवधिमा अधिकांश सामाजिक सञ्जालमा भुले, आपराधिक समूहले त्यही सञ्जाल प्रयोग गरी ३० भन्दा बढीको फेसबुक ह्याक गरी विभिन्न गलत क्रियाकलाप गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैत ११ गते लकडाउन भएको दिन प्रहरी कार्यालयको हिरासतमा ७२ थुनुवा थिए । वैशाख र जेठमा भने हिरासतमा सातदेखि १० जनासम्म मात्र रहेको कार्यालयको तथ्यांक छ । जेठ ३२ गतेसम्म १२ थुनुवा थिए भने लकडाउन खुकुलो भएको असार १ गते १६ जना थुनुवा रहे । त्यसपश्चात् २०, २२, २४ हुँदै हाल ३० जना हिरासतमा छन् ।

उक्त तथ्यांकले लकडाउन खुकुलो भएसँगै आपराधिक श्रृंखलाका घटना बढ्दै जाने संकेत गरेको प्रहरी निरीक्षक गजमेरले बताए । घरेलुहिंसा, चोरी, संगठित अपराध, घरभाडा लेनदेन कार निम्तिन सक्ने घटनालाई मध्यनजर गरी प्रहरीले सुरक्षाका विभिन्न खाका तयार पार्ने उनले बताए । आर्थिक अभावका कारण हुनसक्ने आपराधिक घटनालाई विचार पु¥याउँदै आर्थिक लेनदेन हुने ठाउँमा सचेत रहन प्रहरीले आग्रह गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।