एजेन्सी ।  यो सिजनको जर्मन बुन्डेसलिगाको उपाधि जितेको जर्मन महारथी बायर्न म्युनिख जर्मन कप (डिएफबी पोकल) को च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बायर लिभरकुसनमाथि ४–२ को जित निकाल्दै बायर्न २०औं पटक जर्मन कप च्याम्पियन बनेको हो ।

लिभरकुसनको मैदान ओलम्पिया स्टेडियम बर्लिनमा भएको खेलमा बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा डेभिड अल्वा र सर्जी जिनाब्रीले गोल गरे । लिभरकुसनका स्वेन वेन्डर र काई हाभर्टजले गोल गरेपनि हार टार्न सकेनन् । डिएफबी पोकलको सर्वाधिक सफल तथा गतवर्षको समेत च्याम्पियन रहेको बायर्नले २४ पटक फाइनल खेल्दा २०औं पटक च्याम्पियन बन्न सफल भएको हो । यता, लिभरकुसन भने २७ वर्षपछि डिएफबी पोकलको च्याम्पियन बन्ने योजनामा रहेपनि सफल हुन सकेन ।

१९९३ मा च्याम्पियन भएयता लिभरकुसनले यो उपाधि जित्न सकेको छैन । लिभरकुसन २००२ र २००९ मा फाइनलमा पुग्न सफल भएपछि उपाधिबाट बिमुख बनेको थियो । लिभरकुसनविरुद्ध बायर्नले खेलको सुरुवातदेखि नै पकड बनाएको थियो । १६औं मिनेटमा डेभिड अल्वाको गोलमा अग्रता लिएको बायर्नले २४औं मिनेटमा सर्जी जिनाब्रीको गोलमा पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।

त्यसपछिको दुई गोल भने बायर्नका लागि यो सिजन बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता बनेको पोलिस रोवर्ट लेवान्डोस्कीको नाममा रह्यो । ५९औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई उपाधितर्फ लम्काए । ६४औं मिनेटमा एसभेन वेन्डरले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याउदै लिभरकुसनलाई खेलमा फर्काउने संकेत दिए । ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिग दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई खेलमा ४–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा काई हाभर्टजले गोल गरेपनि लिभरकुसन बायर्नसँग ४–२ ले पराजित हुदै उपाधिबाट विमुख बन्यो । लिभरकुसन पछिल्लो खेलमा पनि बायर्नसँग ४–२ ले नै पराजित भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।