Image Not Found

असार २०, नयाँ दिल्ली (भारत) । भारतले लगाएको प्रतिबन्धका कारण चिनियाँ शर्ट भीडीयो एप टिकटकलाई ६ अर्ब डलरभन्दा धेरै घाटा हुने अनुमान गरिएको छ ।

टिकटकको मातृ कम्पनी बाइट डान्सले यस्तो प्रक्षेपण गरेको हो । गएको सोमवार भारतले देशको सार्वभौमिकता र अखण्डतामा खलल पुर्‍याएको भन्दै टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध भारत र चीनबीच सीमा विवाद चर्किएकै बेलामा आएको हो ।

प्रतिबन्धका कारण बाइटडान्सले  ६ अर्ब डलरभन्दा धेरै घाटा बेहोर्ने कम्पनीको वरिष्ठ व्यवस्थापनसँग निकट स्रोतको भनाइ उद्धृत गर्दै चीनको खाइसिन ग्लोबल डट कमले भनेको छ ।

यो प्रतिबन्धमा परेका अन्य सबै चिनियाँ एपहरुले बेहोर्ने एक मुष्ठ क्षतिभन्दा पनि धेरै हुने उसको भनाइ छ । प्रतिबन्धले विश्व बजारमा टिकटकको विस्तारमा ठूलो झट्का लागेको छ । यो विदेशमा सर्वाधिक लोकप्रिय चिनियाँ एप हो ।

प्रयोगकर्ताका आधारमा भारत चीनबाहिर सबैभन्दा ठूलो बजार हो । प्रतिबन्धमा बाइटडान्सका टिकटक बाहेक भिगो भिडियो र सामाजिक नेटवर्किङ एप हेलोसमेत परेको छ । अर्को चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टको भने म्यासेजिङ प्लेटफर्म विच्याट बाहेक अन्य पाँच ओटा एप पनि प्रतिबन्धमा परेका छन् ।

प्रतिबन्धबाट प्रभावित हुनेमा अलिबाबा ग्रूप होल्डिङ र पाइतु इंकका एप पनि छन् ।

प्रतिबन्धित सबै ५९ ओटा एपहरु भारतीय बजारका लागि एप्पल र गुगलका एपस्टोरबाट हटाइएको छ । यस वर्षको पहिलो त्रैमासमा भारतमा टिकटक ६१ करोड १० लाख पटक डाउनलोड भएका छन् ।

यो सो अवधिमा विश्वभर भएका डाउनलोडको करीब ३० दशमलव ३ प्रतिशत हो । त्यस्तैगरी यो गत वर्षभर भारतमा भएको डाउनलोडको दोब्बर हो । भारतको पछिल्लो कदमले कम्पनीलाई लामो समयसम्म प्रभावित पार्ने विश्लेषण गरिएको छ । रासस/ पीटीआई 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।