एजेन्सी, १९ असार । स्पेनिस ला लिगामा उपाधि दाबेदार मानिएको क्लब रियल मड्रिडले आफ्नो २२औं जित निकालेको छ । बिहीबार राति रियलले गेटाफेविरुद्ध १–० गोलको कठिन जित निकालेको हो । रियलको प्रशिक्षण मैदान स्टेडिया अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन एक मात्र गोल कप्तान सर्जियो रामोसले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७९औं मिनेटमा रियलले पेनाल्टीको मौका पाएको थियो । गेटाफेका माथियास ओलिभरले ड्यानी कार्भाजलमाथि फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो, जसमा रामोस लगातार २१औं पेनाल्टी गोल गर्न सफल रहे ।

यस जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासँग स्पष्ट ४ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको रियलले ७४ अंक बनाएको छ भने दोस्रो स्थानको बार्सिलोनासँग ७० अंक रहेको छ । रियलले अब खेल्न बाँकी रहेका पाँच खेलमा उपाधिका लागि मात्र ४ खेलमा जित निकाले पुग्नेछ । सन् २०१२ पछि पहिलो पटक रियल ला लिगाको उपाधि जित्ने अभियानमा रहेको छ ।

रियलले कोरोना महामारीका कारण स्थगन भइ पुनः सुचारु भएको ला लिगामा लगातार छ खेलमा जित निकालेको छ । बार्सिलोनाले भने छमध्ये तीन खेलमा बराबरी र तीन खेलमा जित निकालेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।