file photo

असार १८ – हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ ।

मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा अन्य सङ्क्रमित फेला परेका छैनन् ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।

एघार दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताए ।

कपिलवस्तुको वाणगङ्गा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म मनाङमा अन्य कुनै पनि मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छैन ।

यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । मनाङमा ३० जनाको पिसीआर परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए ।

हालसम्म मनाङमा १६७ जनाको आरडिटी परीक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ श्यया क्षमताको क्वारेन्टिन र सात श्ययाको आइसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

मनाङमा निर्माण गरिएका सबै आइसोलेसन र क्वारेन्टिन अहिले खाली छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।